राजपालाई अर्को ठूलो धक्का ! प्रभावशाली ‘महामन्त्री’ले पार्टी छाड्दै

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले टिकट वितरणमा गम्भीर असहमति जनाउँदै समावेशिताको सिद्धान्त विपरित नेतृत्व गएको आरोप लगाएका छन् ।

महासचिव लेखीले बुधबार प्रेस विज्ञप्ति जारी गरेर असोज २ गते २ नं. प्रदेशमा हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपा अध्यक्षमण्डलले समावेशिताको सिद्धान्तलाई पाखा लगाएर टिकट वितरण गरेको आरोप लगाएका हुन् ।

‘शहीद परिवार, थारु, मुस्लिम, दलित, महिला पछाडि पारिएका सिमान्तकृति समुदायलाई उपेक्षा गरेको छ’, लेखीले विज्ञप्तिमा भनेका छन्, ‘समावेशी र समानुपातिक प्रणालीको वकालत गर्ने पार्टी स्वयं टिकट वितरणमा समावेशी नहुनुले निर्वाचन परिणामको सम्पूर्ण जिम्मेवारी अध्यक्षमण्डल हुनेछ ।’

महासचिव लेखीले आगामी दिनमा यस्ता निर्णय नगरोस् भनेर सचेत रहनु पर्ने चेतावनी दिएका छन् ।

टिकट वितरणलाई लिएर राजपा नेपालका प्रभावशाली नेताहरूले असन्तुष्टि जनाइ रहेका बेला अर्का महासचिव लेखीले पनि धम्कीयुक्त प्रेस विज्ञप्ति निकालेका हुन् ।

स्रोतका अनुसार महासचिव लेखीले टिकट तिवरण र अध्यक्षमण्डलेको स्वयच्छाचारी निर्णयहरूको विरोध गर्दै पार्टी परित्याग गर्ने तयारी गरेका छन् ।

‘म धेरै दिन राजपा नेपालमा बस्दिन’, महासचिव लेखीले आफू निकटका नेताहरूसँग भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्षमण्डल निरंकुश शैलीमा चलेको छ । आफ्ना नतापाताभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्न सक्दैन । यस्तो अवस्थामा राजपाभित्र बसिरहनुको कुनै अर्थ छैन ।’

Published : Wednesday, 2017 September 6, 4:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया