नेपाली टिम घरेलु मैदानमै ताजिकिस्तानसँग पराजित

काठमाडौं । २०१९ मा युएईमा हुने एएफसी एसियन कपको छनौट चरण अन्तर्गत तेस्रो खेलमा ताजिकिस्तानसँग नेपालले घरेलु मैदानमै पराजय ब्यहोरेको छ ।

सातदोवाटोस्थित एन्फा मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले खेलको नतिजा २-१ ले ताजिकिस्तानलाई सुम्पियो ।

एसियन कप छनौटको यसअघिका दुई खेलमा नेपाल जितबिहीन छ । पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय ब्यहोरेको नेपालले काठमाडौंमै भएको दोस्रो खेलमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो ।

स्ट्राइकर बिमल घर्तीमगर र मिडफिल्डर बिक्रम लामा सुरुवाती टोलीमा नपरेको खेलमा रक्षापंक्तिको तालमेल नमिल्दा नेपाल खेल सुरु भएको ३० मिनेटभित्रै २ गोलले पछि परेको थियो ।

खेलको २५औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो । ताजिकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गर्दा नेपाली डिफेण्डर र गोलरक्षक किरण चेम्जोङले कुनै मौका पाएनन् ।

पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजिकिस्तानले अर्को गोल थप्यो । अलिभले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी कलेक्ट गर्न नसक्दा आएको अवसरलाई भासिव दिल्सोभले सदुपयोग गरेका थिए ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । फलस्वरुप नेपालले ६१औं मिनेटमा १ गोल फर्काउन सफल भयो ।

मिडफिल्डर अञ्जन विष्टको पासमा सब्सिच्युड स्ट्राइकर बिमल घर्तीमगरले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि सुधारिएको नेपाली अग्रपंक्तिले आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।

Published : Tuesday, 2017 September 5, 5:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया