एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ भाग लिने नेपाली खेलाडीहरूलाई बिदाइ गरेका छन् ।

मंगलबार उसु संघ ललितपुरले आयोजना गरेको बिदाइ कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री महर्जन ट्रायक सुट हस्तान्तरण गर्दै खादा लगाइदिएर बिदाइ गरेका हुन् । यहि सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगितामा उशुतर्फ नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । उनीहरूलाई पूर्वमन्त्री महर्जनले सफलताको शुभकामना व्यक्त गरेका छन् ।

पूर्व युवा तथा खेलकुदमन्त्री महर्जनले नेपालको गौरव, प्रतिष्ठा र राष्ट्रिय झण्डाको शान उच्च राख्दै उत्कृष्ट प्रदर्शन गर्न सम्पूर्ण नेपाली उसु खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी सागर चित्रकारले उसुमा सहभागी हुने खेलाडीहरूलाई शुभकामना दिँदै पदक जितेर राष्ट्रको नाम राख्न आग्रह गरेका छन् ।

सोतोकान करातेका अध्यक्ष तथा प्रमुख प्रशिक्षक निवास गोपाल वैद्य, करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा ललितपुर कराते महासंघ अध्यक्ष दयाराम महर्जन, उसुका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा बरिष्ठ प्रशिक्षक रामगोपाल महर्जन, उसुका उपमहासचिव राजिप महर्जन लगाएतको उपस्थितमा बिदाइ कार्यक्रम भएको थियो ।

बिदाइ कार्यक्रमको सभापतित्व ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जनले गरेका थिए ।

Published : Tuesday, 2026 September 15, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया