‘राजपा’मा ‘तमलोपा’ हाबी, सातौँ अध्यक्ष त्रिपाठी

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्न तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयश त्रिपाठीलाई अध्यक्षमण्डलमा ल्याएको छ ।

राजपाका अध्यक्ष महन्थ ठाकुरद्वारा शनिबार राति जारी गरिएको प्रेस विज्ञप्तिअनुसार त्रिपाठीलाई अध्यक्षमण्डलमा स्थायी आमन्त्रित गर्ने निर्णय गरेको उल्लेख छ । त्रिपाठीले बरिष्ठताको विषय उठाएर आफ्नो गुटको अलग भेला गर्दै आउनु भएको थियो ।

त्रिपाठीले राजेन्द्र महतो र अनिलकुमार झालाई आफूभन्दा जुनियर नेता भन्दै असन्तुष्टि जनाउँदै आउनुभएको छ । अध्यक्षमण्डलमा तानिए पनि त्रिपाठी सबैभन्दा जुनियर अध्यक्षका रुपमा रहनु हुनेछ ।

राजपा नेपालका नेताहरूले संयोजक महन्थ ठाकुर र तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) हाबी भएर विधान विपरित त्रिपाठीलाई अध्यक्षमण्डलमा ल्याइएको भन्दै विरोध सुरु भएको छ ।

अध्यक्षमण्डलमा स्थायी आमन्त्रितका रुपमा नियुक्ति गरिएका विषयमा नेता त्रिपाठीले केही प्रतिक्रिया दिनु भएन । उहाँले भन्नुभयो, ‘यस विषयमा मलाई केही जानकारी आएको छैन । जानकारी आयो भने भनौला । अहिले केही भन्नु छैन ।’

अध्यक्षमण्डलले राजनीतिक समिति पनि गठन गरेको छ । राजनीतिक समितिमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, वृषेश चन्द्रलाल, गोविन्द चौधरी, विजय गुप्ता, लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर साह, रामनरेश रायलाई सदस्य राखिएको छ ।

त्यसैगरी राजनीतिक समितिको सदस्यमा रानी तिवारी, रामकुमार मण्डल, निर्जला राउत, शेखरकुमार सिंह, निलम वर्मा, रामनारायण सिंह, मालामती देवी राना थारु, गजाधर यादव, गंगाराम यादव र चन्देश्वर झालाई नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

राजपा नेपालले सबै महासचिव, सह–महासचिव र सचिव सम्मिलित एक पार्टी केन्द्रीय सचिवालयको गठन गरेको छ । त्यसमध्येका महासचिव सम्मिलित एक ‘केन्द्रिय सचिवालय समन्वय समिति’ गठन गरिएको छ ।

केन्द्रीय सचिवालय समन्वय समितिमा जितेन्द्र सोनल, मनीषकुमार सुमन, पेशल ढकाल, केशव झा, सुनिल रोहित, चन्देश्वरप्रसाद सिंह र चन्दा चौधरीलाई राखिएको छ ।

पार्टीका सबै कोषाध्यक्ष एवं सह–कोषाध्यक्ष सम्मिलत पार्टी केन्द्रीय आर्थिक समिति गठन गर्ने निर्णय पनि अध्यक्षमण्डलले गरेको छ । कोषाध्यक्षहरूको समितिमा कविन्द्रनाथ ठाकुर, अरुणकुमार सिंह, किरण यादव, सेवकीदेवी दास तत्मा, माधुरी साह र जानकी शरण साहलाई नियुक्त गरिएको छ ।

पार्टीका सबै प्रवक्ता सम्मिलित पार्टी केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय पनि भएको छ । समितिमा कृष्णा सिंह, सन्तोष मेहता, लाल किशोर साह, रामअशिष गुप्ता, डा. डिम्पलकुमारी झा, अमरेन्द्रकुमार साह र दिनेशकुमार गुप्ता रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2017 September 3, 9:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया