जिल्ला अध्यक्षहरूलाई अध्यक्ष राणाको सर्कुलर, संगठन गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले जिल्ला कार्यसमितिहरूलाई कसैको पनि बहकाउ र भ्रममा नपर्न निर्देशन दिनुभएको छ ।

अध्यक्ष राणाले जिल्ला अध्यक्षहरूलाई सर्कुलर जारी गरेर राप्रपा (प्रजातान्त्रिक)मा रहेर संगठन गर्न आग्रह गर्नुभएको हो । ‘निर्वाचन आयोगले राप्रपा (प्रजातान्त्रिक)लाई नयाँ दलको मान्यता दिनुका साथै व्यवस्थापिका संसदले समेत मान्यता दिइसकेको छ’, राणाको सर्कुलरमा भनिएको छ, ‘यस्तो अवस्थामा कसैको बहकाव र भ्रममा नपर्न आग्रह गर्छु ।’

पार्टी एकीकरणका बेला भएका कुनै पनि सहमति कार्यान्वयन नभएका कारण पार्टी विभाजन गर्नु परेको अध्यक्ष राणाले बताउनुभएको छ । ‘चुनाव चिन्ह ‘हलो’ राख्ने सहमति भएको थियो । सबै नेता र कार्यकर्ताहरूलाई समायोजन गर्ने कुरा भएको थियो’, उहाँले भन्नुभएको छ, ‘कमल थापाद्वारा कुनै पनि सहमति कार्यान्वयन नगरेका कारण बाध्य भएर नयाँ पार्टी दर्ता गरेका हौँ ।’

राणाले पार्टीमा रहेका बेला र नरहेका बेला बेग्लाबेग्लै निर्णय गर्ने कमल थापाको व्यवहारले पार्टी र नेताहरू आजित भएको समेत बताउनुभएको छ । कमल थापाकै कारण पार्टी कमजोर र स्थानीय तहमा नराम्रोसँग पराजित हुन पुगेको आरोप अध्यक्ष राणाले सर्कुलरमा लगाउनु भएको छ ।

Published : Tuesday, 2017 August 29, 3:04 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया