युवती बिक्री गर्ने मोष्ट वान्टेड नेपाल आएर सुटुक्क फिर्ता

काठमाडौं । महानगरीय प्रहरी परिसरको प्रमुखमा एसएसपी रविन्द्र धानुक आएपछि नाम कहलिएका गुण्डा नाइकेहरूको भागभाग भएको छ ।

यसै क्रममा केही दिन अगाडि मिलन गुरुङ ‘चक्रे’ पक्राउ पनि परिसकेका छन् भने दीपक मनाङ्गे, गणेश लामा, दावा लामालगायतका गुण्डा नाइकेहरूमाथि प्रहरीले गोप्य निगरानी गरिरहेको छ ।

तर, यि गुण्डा नाइकेहरूभन्दा पनि विदेशबाटै अपराधको साम्राज्य चलाएर नेपालमा गैरकानूनी धन्दा चलाउने खतरनाक गिरोहलाई भने राजनीतिक संरक्षण रहेका कारण उनीहरूलाई प्रहरीले देखेर पनि केही गर्न सकेको छैन भन्ने आरोप छ ।

नेपाल प्रहरीले मोष्ट वान्टेड सूचीमा राखेका मानव बेचविखन तथा ओसार पसार मुद्दाका अभियुक्त सुदर्शन थापा मगर मकाउबाट सुटुक्क नेपाल आई नेपाली कांग्रेसका प्रभावशाली एक पदाधिकारीसँग भेटेर फर्किएका छन् । सुदर्शनले नेपाल आउँदा सार्वजनिक कार्यक्रममा समेत भाग लिएर मकाउ फर्के लगत्तै फेसबुकमा स्टाटस लेख्दै नेपाल आएको र राजनीतिक भेटघाट गरेर फर्केको भन्दै कांग्रेसका तीन प्रभावशाली पदाधिकारी लगायतको टोलीसँग बसेको फोटो पोष्ट गरेका छन् ।

प्रहरी कारबाहीमा पर्ने डरले मकाउ पुगेपछि मात्र उनले आफू वान्टेडमा नरहेको देखाउन उक्त फोटो पोष्ट गरेको स्रोत बताउँछ । यहि समयमा एसएसपी धानुकले परिसरको कमाण्ड र दिवेश लोहनीले अपराध महाशाखाको कमाण्ड सम्हालेका छन् ।

मानव ओसारपसार गिरोहका खतरनाक नाइके सुदर्शनलाई अपराध महाशाखामा सर्वेन्द्र खनाल एसएसपी छँदा मोष्ट वान्टेड सूचीमा राखेका थिए । सुदर्शनले काठमाडौं जिल्ला र उच्च अदालतबाट पनि मुद्दा हारिसकेका छन् ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर सोझासिधा युवतीहरूलाई मकाउमा बोलाई अलपत्र पार्ने तथा युवती बेच्ने धन्दामा विगतदेखि नै सुदर्शन सक्रिय रहँदै आएको प्रहरी स्रोतको आरोप छ ।

अपराधको धन्दाबाट जोगिन सुदर्शनले बेला–बेलामा कांग्रेसका उच्च नेताहरूलाई कार्यक्रमका नाममा मकाउ बोलाएर प्रभावमा पार्दै आएका छन् । महानगरीय अपराध महाशाखाले वारेन्ट जारी गरेका सुदर्शन नेपाली जनसम्पर्क समिति मकाउको अध्यक्ष र एनआरएन मकाउका पूर्वअध्यक्ष पनि हुन् ।

सांस्कृतिक कार्यक्रमका लागि भन्दै १४ दिनको टुरिस्ट भिसामा मकाउ पुगाइएकी स्याङ्जाकी सञ्जु थापालाई अपराध महाशाखा र एनआरएनको सहयोगमा उद्दार गरिएपछि सुदर्शनको असली धन्दा खुलेको थियो ।

वैदेशिक रोजगारीको शिलशिलामा सांस्कृतिक कार्यक्रम भन्दै पर्यटक भिसामा गएकी थापालाई महिनाको ५ हजार डलर तलव हुने लोभ देखाएर मकाउ पुगाइएको थियो । तर, उनलाई चिनियाँ व्यक्तिको घरमा बेचिएको खबर बाहिर आएपछि अपराध महाशाखाका तत्कालीन एसएसपी सर्वेन्द्र खनालले मकाउमा रहेका नेपाली र संघसंस्थासँग समन्वय गरी उद्धार गरेका थिए ।

सञ्जुलाई उद्धार गरेको पर्सिपल्ट जब प्रहरीले काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पास रिक्रुइमेन्ट प्रालिका सञ्चालक सुवास थापामगरलाई पक्राउ ग-यो, त्यसपछि यो प्रकरणमा मुछिए सुदर्शन थापा मगर ।

काठमाडौं जिल्ला अदालतमा मकाउ पठाउने म्यानपावर कम्पनीका मालिक सुवास थापामगर, मकाउमा यौनहिंसा गर्ने सुवासका बाबु सुदर्शन थापामगर र मकाउमा चिनियाँलाई बेच्ने दलाल लोकराज बरालविरुद्ध सञ्जुले मुद्दा समेत हालेकी थिइन् । जुन मुद्दा सुदर्शनले हारिसकेका छन् ।

सुदर्शन मुद्दा पुनरावलोकनका लागि उच्च अदालत पाटन पुगे पनि त्यहाँबाट समेत मुद्दा हारिसकेको पीडित युवतीको आफन्तले बताएका छन् । उनीहरूमाथि प्रहरीले मानव वेचविखन तथा ओसारपसारमा मुद्दा चलाएको थियो । मकाउमा रहेका सुदर्शनलाई महाशाखाले नेपाल झिकाउने प्रयास पनि गर्दै आइरहेको थियो । तर, सुदर्शन आफै नेपाल आएर सुटुक्क फर्किदा समेत प्रहरीले कुनै अत्तोपत्तो पाएन ।

एनआएनए मकाउका पूर्वअध्यक्ष सुर्दशनले रोजगारीका लागि विदेश पठाउने भन्दै वेरोजगार नेपालीबाट मोटो रकम असुलेर ठगी धन्दा पनि चलाउँदै आएको पीडितहरूको भनाइ छ । सुदर्शनले आफ्नो छोराले सञ्चालन गरेको म्यानपावरमार्फत रेस्टुरेन्टका लागि कल्चरल डान्स गर्न भन्दै केटीहरूलाई टुरिष्ट भिसामा मकाउ पुगाएर बेच्ने धन्दा गर्दै आएको आरोप छ ।

यसअघि नेपाली जन–सम्पर्क समिति मकाउको तेस्रो वार्षिकोत्सब कार्यक्रममा सुदर्शनले कांग्रेस सांसद तथा केन्द्रीय सदस्य धनराज गुरुङ, केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङ, सांसद राजु थापा, कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीलगायतलाई बोलाउँदा ठूलो विरोध भएको थियो ।

हङकङका महावाणिज्य दूत कमल भट्टराईलाई मकाउमा बोलाएर कार्यक्रम आयोजना गर्दा सुदर्शनमाथि पीडितहरूले कुटपिट समेत गरेका थिए । यस्ता मोष्ट वान्टेड र नेपाली चेलीलाई विदेशमा लगेर चिनियाँ नागरिकलाई बेच्ने गिरोहका नाइकेलाई नै कांग्रेस नेताहरूले संरक्षण गर्दै प्रहरी कारबाहीबाट जोगाउने हो भने भविश्यमा यस्ता सुदर्शन थापा धेरै जन्मने र पीडित सधै मारमा परिरहने मकाउ एनआरएनका एक सदस्य बताउँछन् ।

Published : Monday, 2017 August 28, 12:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया