चुनावमा कांग्रेसको दुई करोड रुपैयाँ खर्च

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा झन्डै दुई करोड रुपैयाँ खर्च भएको जनाएको छ । कांग्रेसले निर्वाचन आयोगलाई बुझाउन तयार पारेको आर्थिक वर्ष २०७३/७४ को आर्थिक प्रतिवेदनमा स्थानीय निर्वाचनमा १ करोड ९० लाख ३० हजार ७ सय ४१ रुपैयाँ खर्च भएको उल्लेख छ ।

कांग्रेसले स्थानीय निर्वाचनका लागि चन्दाबाट संकलन भएको १ करोड २४ लाख ७५ हजार रुपैयाँ र थप ६६ लाख खर्च देखाएको छ । ३ करोड ६ लाख ६९ हजार ७ सय रुपैयाँ आम्दानी देखाउँदै कांग्रेसले त्यसमध्ये २२ लाख ६० हजार २ सय ९४ रुपैयाँ ब्याजबाट आएको उल्लेख गरेको छ । त्यस्तै १ करोड ६० लाख ३४ हजार ४ सय रुपैयाँ कुन स्रोतबाट आम्दानी भयो भन्ने उसले खुलाएको छैन ।

पार्टीको १३औं महाधिवेशनका लागि प्राप्त चन्दा र खर्च सार्वजनिक गर्ने घोषणा गरे पनि अहिलेसम्म त्यसको औपचारीक जानकारी नगराएको कांग्रेसले आयोगलाई बुझाउन तयार पारेको प्रतिवेदनमा ३ करोड २१ लाख ६० हजार ३ सय ७३ रुपैयाँ चन्दा संकलन भएको उल्लेख छ । महाधिवेशनमा गत आर्थिक वर्षमा ४ करोड ३२ लाख ९ हजार ८ सय र पछिल्लो वर्ष १ लाख ३९ हजार २ सय रुपैयाँ खर्च भएको उसले जनाएको छ ।

गत वर्षको तुलनामा ३ करोड रुपैयाँ कम खर्च उसले देखाएको छ । अघिल्लो वर्ष ८ करोड ३७ लाख ३८ हजार ८ सय ९ रुपैयाँ खर्च देखाएको कांग्रेसले यसपटक भने ५ करोड ८ लाख ५० हजार रुपैयाँमात्र खर्च भएको प्रतिवेदनमा देखाएको छ ।

कर्मचारीका लागि ६४ लाख ७८ हजार ४ सय रुपैयाँ खर्च देखाएको कांग्रेसले साधारण तथा प्रशासनिक खर्च भने ८३ लाख ६१ हजार ४ सय ४१ रुपैयाँ भएको जनाएको छ । भ्रातृ संगठनको महाधिवेशनमा  १ करोड २४ लाख ८९ हजार २ सय ५५ रुपैयाँ खर्च भएको कांग्रेसले उल्लेख गरेको छ ।

१ करोड ६० लाख ५७ हजार २ सय ७ रुपैयाँ नगद मौज्दात देखाएको उसले ६ करोड ८५ लाखबराबरको स्थिर सम्पत्ति रहेको जनाएको छ ।

मुद्दती निक्षेपमा ४ करोड ७५ लाख रुपैयाँ देखाएको कांग्रेससँग ६ करोड ३५ लाखभन्दा बढी नगद मैज्दात छ । चालू सम्पत्ति ७८ लाख २९ हजार रहेकेा उल्लेख गर्दै उसले १ करोड ७९ लाख ४७ हजार २ सय ३१ रुपैयाँ दायित्व (ऋण) देखाएको छ, जुन गत वर्र्ष  १ करोड २३ लाख ५० हजार ७ सय ४४ रुपैयाँमात्र थियो ।

Published : Saturday, 2017 August 26, 11:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया