लुम्बिनीका अर्थमन्त्रीलाई झट्का, प्रदेशसभा बैठक प्रभावित

मसुरिया । बजेटलाई लिएर लुम्बिनी प्रदेश सभाको बैठक प्रभावित हुन पुगेको छ ।

मंगलबार दाङको देउखुरी, बाघढड्डीस्थित लुम्बिनी प्रदेशसभा बैठकमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा र जनमत पार्टीका सांसदहरूले बजेटको विरोध गरेका छन् । बैठकमा कांग्रेस, नेकपा, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीका सांसदहरूले बिरोध गरेर आ–आफ्नो सिटमा उभिएर विरोध गरेपछि बैठक स्थगित भएको छ । उनीहरूले भौतिक मन्त्रालयले बजेट नदिएको बताएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले कम जनसंख्या रहेको आफ्नो गृहजिल्ला गुल्मीमा धेरै बजेट राखेको भन्दै आलोचना भएको छ ।

बजेट मुख्यमन्त्री र मन्त्री केन्द्रित भएको भन्दै सत्तापक्षसहित विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् ।

बैठक शुरु हुनेवित्तिकै सभामुख तुलाराम घर्ती मगर कार्यसूचीमा प्रवेश गर्न खोजेका थिए । प्रदेश सभाका केही सदस्यहरूले उभिएर विरोध जनाएपछि सहमतिका लागि भन्दै आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।

कांग्रेसका सांसद बसीउद्दिन खाँले ‘जहाँ जहाँ मन्त्री, त्यहाँ त्यहाँ बजेट भएपछि सत्तापक्ष, प्रतिपक्ष भन्ने नै रहेन’ भन्दै बजेटमा असहमति राखेका छन् । यसरी जनतालाई ठग्न नपाइने भन्दै सांसद खाँले माग सम्वोधन नभएसम्म सदन चल्न नदिने बताए ।

कांग्रेसकै सांसद भुवनेश्वर चौधरी, राष्ट्रिय जनमोर्चाकी सांसद तारा थापा, नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्रकुमार पुन मगर, जनमत पार्टीका चन्द्रकेश गुप्तालगायतले बजेटको विरोध गर्दै बैठक अगाडि बढ्न नसक्ने बताएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष ०८३÷०८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव पेस भएपछि बैठक अगाडि बढाउन सभामुखले प्रयास गर्दा सांसदहरूले विरोध जनाएका हुन् ।

Published : Tuesday, 2026 June 23, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया