व्यक्तिगत स्वार्थ त्याग्ने हो भने कांग्रेस आफै बन्छः बहादुरसिंह लामा (अन्तर्वार्ता)

बहादुरसिंह लामा (तामाङ), केन्द्रीय सदस्य, नेपाली कांग्रेस

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संशोधित विधानलाई केन्द्रीय कार्यसमितिले बहुमतबाट पारित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले नोट अफ डिसेन्ट लेखेर लिखित रुपमा असहमति राखेको थियो । त्यसको प्रभाव अनुशासन समिति गठनमा परेको छ । यतिसम्म भयो कि गत मंगलबारको केन्द्रीय कार्यसमिति बैठक पौडेल–सिटौला समूहले बहिस्कारको चेतावनी दियो । त्यसपछि सभापति शेरबहादुर देउवाले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् । यसै विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामा (तामाङ)सँग रिपब्लिका दैनिकद्वारा गरिएको कुराकानीको सम्पादित अंश : –

कांग्रेसको बैठक नै बस्न नसक्ने अवस्था कसरी आयो ?

कांग्रेसको विधान पारित गर्ने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबाट केही अडानहरू आएका थिए । विधानमा सहमति गर्न खोज्दा धेरै समय लाग्यो । सहमति हुन सकेन । कसरी जाने भनेर एउटा विधि अपनाउनु पर्‍यो । सहमतिका लागि हामीले बहसहरू धेरै गर्‍यौँ । उहाँहरूले विधानमा दुई वटा विभाजित कुराहरू उठाउनु भएको थियो । उहाँहरू (कृष्णप्रसाद सिटौला)ले विगतमा बनाएकै पहिलाको विधानलाई अहिले पनि केही कुरा क्यारीओभर गरेर ल्याइएको हो । ती कुरा अहिले संशोधन गर्नुपर्ने औचित्यहरू दर्शउन उहाँहरूले सक्नु भएन । केन्द्रीय कार्यसमितिले विधानलाई पारित गर्‍यो ।

पहिला पदाधिकारीलाई सभापतिले मनोनीत गर्ने व्यवस्था थियो । एउटा महामन्त्री र एउटा कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था थियो । अर्को महामन्त्री, उपसभाति र सहमहामन्त्री मनोनीत गरिन्थ्यो । पहिला २५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गरिन्थ्यो । अहिले २० प्रतिशत मात्रै मनोनीत गरिन्छ । यो विषयमा विवाद थियो । पदाधिकारी सबै निर्वाचित गर्नुपर्छ भन्ने कुरा आयो । छलफल गरेर सहमहामन्त्री निर्वाचित गर्न सहमत भयौँ । हामीले विभिन्न क्लस्टरबाट सहमहामन्त्री निर्वाचितको कुरा उठायौँ । सात प्रदेशलाई सहमहामन्त्रीले हेर्ने कुरामा सहमति बन्यो । अरु एउटा सहमहामन्त्री थपेर आठ वटा बनाइयो ।

विधानमा पहिला बुथबाट केन्द्रीय सदस्यहरू आउँथे । पहिला नै केन्द्रीय सदस्यहरू स्वतः महामधिवेशन प्रतिनिधि हुने कुरा राखिएको थियो । यो प्रयोग उहाँहरू (कृष्णप्रसाद सिटौला)ले नै गर्नुभएको थियो । त्यसपछि लगातार महाधिवेशन प्रतिनिधि हुँदै आएका छौं । गिरिजाबाबु, सुशील दा, शेरबहादुर दाईको पालामा पनि त्यसलाई मानेर केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुँदै आएका छौँ ।

यो विषयमा उहाँहरू (पौडेल–सिटौला समूह)ले बुथबाट प्रतिनिधि बनेर आउनु पर्छ भन्नुभयो । तर त्यो कुरामा उहाँहरूले औचित्य दर्शसाउनु पर्ने थियो । औचित्य दिन सक्नु भएन । बुथमा जान सबै तयार छन् । तर, त्यसबाट पर्ने प्रभाव र असरका बारेमा पनि वैधानिक रुपमा हेर्नुपर्छ । कोही तलैबाट आउन चाहन्छ भने बाटो खुला नै छ ।

तलैबाट आउने कुरालाई उहाँहरूले महासमिति बैठकमा प्रक्रिया पूरा गरेर ल्याउनु पर्ने थियो । ल्याउनु भएन । यो कुरा महासमितिमा गएको छैन । महासमितिमा नगएको कुरालाई कसरी निर्णय गर्ने ?

आरक्षणको कुरा के हो ?

क्लस्टरबाट एक–दुई पटक उठ्न पाइँदैन भन्ने कुरा आएको थियो । आरक्षणमा एक–दुई चोटी नआउँला । तर, तपाईहरू कति चोटी लड्न पाउने भनेर नेताहरूलाई सोध्यौँ ? त्यो पनि निर्णय गर्नुपर्‍यो भन्यौँ । केन्द्रीय सदस्य कति पटक लड्ने हो त्यो पनि लेख्नु पर्‍यो भन्यौँ । चुनाव लडेर आउने कुरालाई किन बन्देज लगाउने भन्ने कुरा जोडदार रुपमा उठायौँ । आरक्षणको रुपमा मनोनीत गर्ने १ वा दुई कति पटक गर्ने हो त्यो चाहिँ राखौँ भन्ने सुझाव दिएका थियौँ । नत्र भने मन्त्री कतिचोटी बनाउने ? कति चोटी निर्वाचनमा लड्न पाउने त्यो पनि राखौँ भन्ने सुझाव हाम्रो थियो ।

सभापतिहरूको भेलाले भन्दैमा सबै गर्नुपर्छ भन्ने छैन । पार्टीको हितलाई पनि हेर्नुपर्छ । सभापतिहरूको भेलाले मात्रै निर्णय गर्ने हो भने त्यही अनुसार गरौँ । केन्द्रीय समितिको भेलाले गर्ने हो भने केन्द्रीय समितिले गरौँ । महासमितिले गर्ने हो भने त्यहीअनुसार गरौँ । सहमति गरौँ । सहमति भएन भने प्रक्रियाबाट बहुमतबाट गरौँ भन्यौँ । उहाँहरूले दुइटा विवादित कुरालाई छोडेर अगाडि बढ्ने कुरा राख्नु भएको थियो । हामीले मानेनौँ । किन मानेनौँ भने विधान यत्रो समयसम्म नबनाएर गाउँमा के भनेर जाने ? विधान पनि टुक्र्याएर बनाउने हो भने कार्यकर्तालाई कसरी जवाफ दिने ? यस्ता कुरा हुँदैन भन्यौँ । झुठमुठको कुरा हुँदैन अहिले नै हो गर्ने भनेका हौँ । गर्ने हो भने गर्ने, नगर्ने हो भने नगर्ने । अहिले नै गरौँ भनेपछि बहुमतको प्रक्रियाबाट विधानलाई पारित गरिएको हो । सभापतिलाई हामीले नै दवाव दिएका हौँ ।

बैठक बोलाउने असन्तुष्ट पक्ष हलमा नआउने । केन्द्रीय सदस्यहरू बस्दाबस्दा हैरान । एघार बजे बोलाएर पाँच बजेसम्म पनि बैठक बस्न नसक्ने अवस्था आयो । त्यसपछि हामी कडा रुपमा प्रस्तुत भयौँ ।

अनुशासन समितिमा त कुरा मिलने है ?

अनुशासन समिति बनाउने कुरा भएको थियो । अरु समितिहरू बनाउने प्रस्ताव थिए । अनुशासन समितिमा भागबण्डा मिलेको पनि थियो । नाम पनि दिइएको थियो । तर, उहाँहरू (पौडेल–सिटौला समूह)ले अनुशासन समितिको संयोजक सिनियर नेता ल्याउनु पर्छ भनेर विवाद निकाल्नु भयो । जुनियर हुँदैन भन्नुभयो । अनुशासन समितिको सदस्यहरूमा उहाँहरूले दिलेन्द्र बडु र नवीन्द्रराज जोशीको नाम पठाउनु भएको थियो ।

बहुमतबाट पारित भएको विधान उल्टिन्छ ?

निर्णय भैसकेको कुरा उल्टिदैन । हरेक ठाउँमा उहँहरूले विवाद निकाल्नु हुन्छ । पार्टी चलाउने हिसावले उहाँहरूको कुरा आउँदैन । कुरा अड्काएर मात्रै जाने हिसावमा उहाँहरू हुनुहुन्छ ।

आखिर कांग्रेसभित्रको समस्या के हो त ?

१४औँ महाधिवेशनमा नेतृत्व लिनका लागि कसलाई असफल बनाउने ? कसलाई सफल बनाउने ? के गर्ने ? म कता जाने ? म कहाँ बस्ने भन्ने कुरामा अल्झिएको छ । विवाद यहिँ छ । व्यक्तिगत स्वार्थ त्याग्ने हो भने कांग्रेसभित्र कुनै पनि समस्या छैन ।

१४औँ महाधिवेशनमा शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिने हल्ला छ हो ?

अहिले पनि सभापति हुनुहुन्छ । दोस्रो पटक सभापति बन्ने इच्छा होला । स्वभाविक पनि हो ।

कांग्रेसभित्र पौडेल–सिटौलाका गुटहरू छन् उहाँहरूलाई सहमतिमा नल्याएर देउवाले निर्णय गर्न मिल्छ ?

सकेसम्म सहमति गर्ने हो । सहमति नै गर्नुपर्छ भन्ने कुरा विधानमा लेखेको छैन र हुँदैन पनि । असहयोग गर्नेले जहाँ पनि असहयोग गरिहाल्छ । एउटा बाटो त खोल्नु प¥यो नि । बाटो कहिल्य पनि नटुंगिने भन्ने हुँदैन । कांग्रेसलाई अनिर्णयको बन्द बनाउन विषयहरू अड्काएको अड्काइ कहिल्यै पनि गर्नु हुँदैन । कांग्रेसलाई अफ््ठ्यारो पर्ने गरेर अड्काउनु त भएन नि । सहमतिको पनि एउटा बिन्दु हुन्छ । सधैँ निकास नै आउन नसक्ने गरेर अड्को लाइरहने गर्नु हुँदैन । एउटा प्रक्रियामा जानुपर्छ । कि सहमतिमा आउनु पर्छ । कि बहुमतको निर्णयलाई मान्नुपर्छ ।

पौडेल–सिटौला समूहलाई सभापति देउवाले कसरी सहमतिमा ल्याउनु हुन्छ ?

यसरी समूहको कुरा गर्ने हो भने कांग्रेस पार्टीभित्र धेरै समूह छन् । गुट चलाउनु हुँदैन भन्ने मान्यता मेरो छ । जे भएपनि कांग्रेसलाई चलाउनुपर्छ । पार्टी त हाक्नु प¥यो नि । पार्टी नहाँकेर कहाँ हुन्छ । एउटालाई मात्रै दोष लगाउनु हुँदैन । सहमति गरौँ भन्दा भन्दै दुई वर्ष तीन वर्ष गइसक्यो । पार्टीका लागि एउटा निकासमा त जानु पर्छ । त्यो भनेको प्रजातान्त्रिक प्रक्रिया हो । उहाँहरूले पनि मान्नुपर्छ । होइन भने कांग्रेसलाई घाटा हुन्छ ।

मंगलबारको बैठक बहिस्कार हुनुभन्दा अगाडि सभापति देउवाले असन्तुष्ट समूहसँग कुरा गर्नुभएन ?

भित्री कुरा के गर्नुभयो उहाँहरूको कुरा हो । उहाँहरूलाई नै थाहा होला । सभापति देउवाज्यूले पदाधिकारीहरूको बैठकमा नेताहरूसँग कुरा गर्नुभएको थियो । महामन्त्री डा.शशांक कोइरालासँग पनि कुराकानी भएको थियो । महामन्त्री डा.कोइराला कै सल्लाहमा बैठक स्थगित गरिएको हो ।

सहमतिमा बैठक स्थगित भएको हो कि देउवाले रोक्नु भएको हो ?

सहमितमा जाने कुरा भएपछि बैठक स्थगित भएको हो ।

पौडेल–सिटौला समूहसँग सभापति देउवाको सहमति हुने कुरा कत्तिको सम्भावना देख्नु भएको छ ?

यही पाराले त सहमति हुँदैहुँदैन । कहिल्यै पनि हुँदैन । यतिकै जान्छ । निर्णय र प्रस्तावहरूलाई सभापतिले ‘लिङगेरिङ’ गरेर राखिरहने हो भने यो विषय यत्तिकै रहन्छ । मैले पहिला पनि भनेको छु सहमति हुन्छ भने सहमति गरौँ । सहमति हुँदैन भने प्रक्रियामा जाऔँ । प्रजातान्त्रिक प्रक्रियालाई सबैले मानौँ । सभापतिलाई सधैँ अफ्ठ्यारो पार्ने कुरा नगरौँ । सधैँ असहयोग गर्ने गरेर आउने हो भने सहमति हुँदैन । पहिला एउटा कुरा गर्ने । सहमति हुन लाग्यो भनेर फेरि कुरा फेरिरहने कार्यले कहिल्यै सहमति हुँदैन । जे कुरामा सहमति हुन्छ त्यसलाई अन्तिमसम्म मान्नुपर्छ ।

Published : Friday, 2019 March 1, 10:04 pm

1 प्रतिकृया प्राप्त “व्यक्तिगत स्वार्थ त्याग्ने हो भने कांग्रेस आफै बन्छः बहादुरसिंह लामा (अन्तर्वार्ता)”

  • Absolutely…right statements we sould be negotiations as soon.posdible to make our party stronger..!!!one thing is that systematiclly can be run into the party’s president right!!!
    JAY NEPAL

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया