प्रचण्डसँग कांग्रेसको गोप्य सहमति भएको छ ? के भन्छन् प्रवक्ता डा.महत ? (अन्तर्वार्ता)

डा.प्रकाशशरण महत, प्रवक्ता, नेपाली कांग्रेस

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनुभन्दा अगाडि केही आन्तरिक सहमति भएको थियो ?

त्यस्तो आन्तरिक सहमतिको बारेमा मलाई थाहा छैन । प्रधानमन्त्रीले स्वयं आएर सहयोग गर्नुपर्‍यो र संविधानको रक्षालाई नै प्राथमिकतामा राख्छु भन्नुभयो । केपी ओलीजी पुस २५ गते जसरी प्रस्तुत हुनुभयो संसद निर्वाचित भएर आएपछिको पहिलो बैठकमै संसद विघठनको कुरा उठाउनुभयो । संसद विघठन गर्न सकिन्छ भनेर पटक–पटक दोेहो¥याएर उदाहरण दिएर जोडदार ढंगबाट उठाउनुभयो । त्यो परिपेक्ष्यमा प्रधानमन्त्रीले पनि त्यसकै बेलुका (पुस २५ गते) सहयोगका लागि कांग्रेससँग अनुरोध गर्नुभयो । हिजोका दिनमा संविधानको रक्षाको लागि यो गठबन्धनको आवश्यक्ता छ भनेर प्रचण्ड, माधव नेपालजी लगायतका कांग्रेसको समर्थनमा सरकार बनेको छ ।

यही मुद्दा लिएर हामी चुनावमा गयौँ । चुनावपछि गठबन्धनले निरन्तरता पाउनुपर्नेमा प्रचण्डजीले छोडेर जानुभयो । पछि जसरी ओलीजले संविधानलाई नै कमजोर पार्ने कुरा, संसद विघठन गर्ने कुरा गर्नुभयो । त्यो परिपेक्ष्यमा प्रधानमन्त्रीले साझा विषयमा हामीसँगै हिँड्नुपर्छ । संविधानको रक्षाप्रति प्रतिवद्ध छु । त्यसका लागि सहयोगको अपेक्षा गर्छु भनेपछि पार्टी सभापतिले पुस २६ गते विश्वासको मतको दिन संविधानको रक्षाको विषय र संसद विघठनको कुरा जसरी ओलीजीले संसदमा उठाउनुभयो त्यसलाई नै उल्लेख गर्दै यो चाहिँ प्रधानमन्त्रीको लागि परीक्षणको घडी पनि देखियो । हामीले तत्कालको लागि विश्वासको मत दिन्छौँ भनेर दिएको हो । यसमा अरु खालको पदीय सहकार्यको विषय मलाई थाहा छैन ।

राष्ट्रपति र सभामुख पदमा सहमति चाहिन्छ कि चाहिँदैन ?

राष्ट्रपति, सभामुख पद महत्वपूर्ण जिम्मेवारी हुन् । संसद सबैको साझा सबैको छलफलको थलो हो । कांग्रेस सबैभन्दा ठूलो दल छ । राष्ट्रपतिले संविधानको रक्षा गर्ने विषय धेरै ठूलो भूमिका हुन्छ । वर्तमान राष्ट्रपतिबाट संविधानको व्यवस्थालाई पनि नजर अन्दाज गरेर विधेयकहरू पेण्डिङ राख्ने, अधिकारको दुरुपयोग गर्ने काम भएको छ । त्यो परिपेक्ष्यमा राष्ट्रपतिको संस्थाले संविधानको रक्षा गर्ने विषयमा महत्वपूर्ण भूमिका संविधानलाई कुल्चने या रक्षा नगर्ने दुबै सम्भावना देखियो । त्यस अर्थमा राष्ट्रपतिको संस्थाले संविधानको रक्षाको पक्षमा उभिन जरुरी देखियो । प्रधानमन्त्रीको पार्टी र प्रधानमन्त्रीले यो विषयमा कसरी जानु हुन्छ उहाँलाई पनि परीक्षणको घडी हो । मत दिँदा संविधानको रक्षाको लागि दाहाल कसरी प्रस्तुत हुनुहुन्छ ? आउने दिनमा परीक्षणको हिसावले हामीले मत दिएको हो । राष्ट्रपति, सभामुख पदमा सहमति जुट्नुपर्छ । सबैभन्दा ठूलो दलसँग सल्लाह र परामर्श गरेर सहमति जुटाएर लैजान जरुरी छ । त्यसमा प्रमुख भूमिका प्रधानमन्त्री दाहालजीको हुन्छ ।

कांग्रेस प्रमुख प्रतिपक्षबाट बिमुख भएको हो ?

कांग्रेस प्रतिपक्षबाट बिमुख हुने कुरा छैन । हुँदैन । हामी सरकारमा पनि जाँदैनौँ । भनि सकेका छौँ । प्रतिपक्षको भूमिका निर्वाह गर्छौं । यही गुण र दोषमा सरकार, प्रधानमन्त्री यो समग्र संविधानको रक्षाको विषयलाई लिएर आमजनताको विषयमा, राष्ट्रियताको विषयमा प्रधानमन्त्री कहाँ उभिनु हुन्छ त्यही अनुसार हाम्रो समर्थन रहन्छ ।

कांग्रेसले राष्ट्रपति पद पाउनको लागि विश्वासको मत दिएको भन्ने आक्षेप केपी ओलीले प्रधानमन्त्री दाहाललाई लगाउनु भएको छ । के हो वास्तविक कुरा ?

सभापति शेरबहादुर देउवाज्यू संसदमा बोलेपछि ओलीजी जसरी प्रस्तुत हुनुभयो । जाल फालेको हो भने माछा पर्दैन भन्ने जस्ता अभिव्यक्ति, जो उहाँलाई नसुहाउने कुरा आए । ओलीजीले जुन एजेण्डालाई अगाडि सार्दै हुनुहुन्थ्यो त्यो दिन पनि उहाँले संसद विघठनको कुरा बोल्नुभयो । अघिल्लो दिन पनि बोल्नुभयो । दोस्रो दिन पनि बोल्नुभयो । ओलीजी त्यो परिपेक्ष्यमा प्रधानमन्त्रीको अगाडि पनि परीक्षणको घडी आएको छ । ओलीजी जसरी प्रस्तुत भइरहनुभएको र जुन एजेण्डालाई अगाडि सारिरहनुभएको छ त्यसमा प्रधानमन्त्री कहाँ उभिनु हुन्छ आगामी दिनमा देखिने कुरा हो । ओली र दाहालजी अहिले एउटै गठबन्धनमा हुनुहुन्छ । बैठकमा के भन्नुभयो, के भन्नु भएन उहाँहरू दुई जनालाई थाहा होला ।

राष्ट्रपति र सभामुख पद ओली र दाहालले लिनु हुन्छ होला नि ? त्यस्तो अवस्थामा कांग्रेसले के गर्छ ?

उहाँहरूका बीच गठबन्धन छ । उहाँहरूले मिलेर गरिरहनुभएको छ । त्यो कुरा हामीले हेरिरहेका छौँ । महत्वपूर्ण मुद्दा संविधानको कुरा आइरहेको छ ।

प्रतिनिधि सभाको सभामुख पदमा कांग्रेसले उम्मेदवारी दिन्छ ?

हामीले सबै दलसँग सभामुखका विषयमा कुराकानी गर्छौं । संसदमा रहेका दलहरूको निष्कर्ष के रहन्छ । संसद भनेको साझा थलो हो । ठूलो दल कांग्रेस हो । अलग–अलग दलको सभामुख र उप–सभामुख हुने व्यवस्था पनि छ । प्रमुख प्रतिपक्ष दलले दुई वटा ठूला जिम्मेवारीमा पाउनु स्वभाविक देखिन्छ । संविधानको आसय पनि त्यही छ । प्रधानमन्त्रीजी कसरी प्रस्तुत हुनुहुन्छ ? माओवादीको के दृष्टीकोण छ ? अरु दलको के दृष्टीकोण छ ? त्यसको आधारमा हामी निर्णय गर्छौं । उम्मेदवारीको बारेमा निष्कर्ष दिन्छौँ ।

केपी ओलीले संसदमा एमाले–माओवादीसहितका दलको सरकार बनाउन अन्तर्राष्ट्रिय शक्तिले चलखेल गरेको आरोप लगाउनुभयो । ओलीजीले भने जस्तै हो ?

हामीले अहिले जुन गठबन्धन बनेको छ त्यसमा राजा चाहिने पनि त्यहिँ छन् । संघीयता चाहने पनि त्यहिँ छन् । गणतन्त्र चाहने पनि त्यहिँ छन् । संघीयता नचाहने पनि त्यहिँ छन् । अनेक प्रवृत्तिहरू एक ठाउँमा उभिएका छन् । त्यो कसले उभ्यायो भनेर प्रश्न गर्ने हो भने के हुन्छ ? हामी जहाँ छौँ त्यहिँ छौँ । हामीले पुरानो गठबन्धनको निरन्तरता भनेका थियौँ । कांग्रेसले यता उता गरेको छैन । कांग्रेसले अपवित्र गठबन्धन गरेको छैन । हिजोका दिनमा प्रचण्डसहितका दलसँग एउटा मुद्दामा यहि संविधानलाई टेकेर आवश्यक परिमार्जन, सुधार, संशोधन गर्न यहि संविधानलाई टेकेर जानुपर्छ भन्ने ठाउँमा थियो । आज पनि त्यहिँ ठाउँमा हामी छौँ । हामी चाहिँ अरुले भनेर चल्ने । उहाँहरू कसले भनेर चल्नुभयो ? यस कारण त्यसको अनुभवी ओलीजी नै हुनुहोला ।

मनमोहन अधिकारी र प्रचण्डलाई कांग्रेसले दिएको विश्वासको मतमा ठूलो अन्तर छ भन्छन् नि ?

त्योसँग तुलना गरिरहनुपर्ने कुनै आवश्यक्ता छैन । बेग्लै परिपेक्ष्यमा पार्टीले समर्थन ग¥यो । त्यस बेलामा एमालेको बहुमत थिएन । त्यस बेला आलोचना, समालोचना सबै कुरा भएको थियो । अहिले बेग्लै परिपेक्ष्यमा तत्कालको लागि निश्चि उद्देश्यका लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिइएको छ । संविधान रक्षाको लागि विश्वासको मत दिएका छौँ । हिजोको सहमतिमा जहाँ थियौँ त्यहिँ छु भनेर प्रधानमन्त्रीजीले भन्नुभएको छ । बिगतमा भएका सहमतिको पक्षमा छु भन्नुभएको छ । राजनीति भनेको सम्भावनाको खेल पनि हो । त्यहि परिस्थितिअनुसार हामी चल्छौँ ।

प्रस्तुति – विमल योगी

Published : Saturday, 2023 January 14, 8:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया