म पनि कांग्रेस हुँ सभापतिजी, किन यति धेरै अहँकार ?

नेपालमा हरेक किसिमका तानाशाही प्रबृत्ति र अधिनायकवादबिरुद्ध लडेर परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस हो । हरेक पार्टीको आफ्नै विधि, पद्धति, नीति हुन्छ । प्रजातान्त्रमा विश्वास गर्ने नेपाली कांग्रेस अन्य पार्टीभन्दा फरक छ । कांग्रेसको यहि असल नीति, बिचार र सिद्धान्त मानेकै कारण हामी जन्मजात रुपमै कांग्रेसमा समाहित भएका हौँ ।

हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आउँदै गर्दा आज कांग्रेस पर्वतमा जुन तानाशाही प्रवृत्ति र अधिनायकवादी क्रियाकलापको पुनराबृत्ति भएको छ, यसले जिल्लादेखि गाउँसम्मका आम नेपाली कांग्रेसमा आस्था र बिचार राख्ने नभई लोकतान्त्रिक मूल्यमान्यता अगाल्नेहरुलाई समेत थप चिन्तित बनाएको छ । भर्खर मात्रै स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । झ्वाट्ट हेर्दा पर्वतमा सात वटा पालिकामध्ये पाँच वटा पालिकाका प्रमुख, अध्यक्ष कांग्रेसले जित्दैगर्दा गाउँसम्मको कांग्रेसको संगठन ध्वस्त भएको छ । ०७४ सालको स्थानीय तहमा तीन वटा पालिकाको प्रमुख र उप–प्रमुख जितेको कांग्रेसले त्यतिबेला २० वटा वडा जित्दै गर्दा दुई वटा पालिकामा दुईतिहाई बहुमत थियो ।

अहिले २६ वटा वडा जितेपनि अधिकांश वडामा अध्यक्षबाहेक अन्य सदस्य एमालेले जितेको छ । जलजलाको सन्दर्भमा भन्न पर्दा ०७४ को चुनाबमा २९ सिट जितेको २३ सदस्य, ४ वडाध्यक्ष र प्रमुख, उप–प्रमुख गरी अहिले १० सिट मात्रै जितेको छ । यसको कारण हो आफूखुसी जबर्जस्ती गठबन्धनको नाममा त्यहाँका नेता कार्यकर्तालाई कुनै सरसल्लाह नगरी ४०–५० भोट नभएका पार्टीलाई ३–३ सदस्य दिँदा यो अवस्था कांग्रेसी कार्यकर्ताले ५ वर्षको लागि भोग्नु परेको छ । यो अवस्था बनाएको पार्टी सभापति युबराज जोशीले नै हो । किनकि म पार्टीको चुनाबमा प्रतिष्पर्धा भएको कारणले गर्दा मेरा वडाहरूमा यसरी टिकट दिएको हो । अहिले यो कुरा उहाँ नै बोल्दै हिँड्नु भएको छ ।

स्थानीय तहको निर्वाचनमा आफ्नो स्वाथको लागि गठबन्धन गर्नु भयो । माओवादीले उप–प्रमुख कुश्मा चाहिँदैन पैयु दिनुभन्दा कुश्मा नै लानुपर्छ भन्नुभएछ कुश्मा नगरपालिकाको टिकट आफूलाई चाहिएको कारण जबरजस्ती गठबन्धन गरिएको हो अरुलाई सिफारिस नगरी एक्कल आफूलाई मात्रै सिफारिस गरी पठायो । तर, प्रदेशले जिल्लाको जस्तो व्यबहार नगरी रामचन्द्र जोशीलाई न्याय दियो । अनि आफ्ना एसमेनलाई टिकट दिँदा गाउँसम्म वर्षौदेखि दुःख पाएका नेता कार्यकर्ता किनारा लागेका छन् । त्यसको कारण वडा–वडामा कांग्रेसको संगठन ध्वस्त हुन पुगेको छ । पर्वत जिल्लाको नेतृत्वको दादागिरी, मनोमानी र तानाशाही प्रबृत्तिले गर्दा आज कांग्रेसको संगठन पर्वतमा छिन्नभिन्न भएको छ ।

अब लगत्तै संघ र प्रदेश सभा सदस्यको निर्वाचन आउँदै छ । यो बेला भनेको कांग्रेसका तमाम नेता कार्यकर्ता साथीहरू एक ढिक्का हुने बेला हो । एकताबद्ध भएर निर्वाचनमा साझा उम्मेदवार चयन गरेर राम्रो मत ल्याएर जित्ने वातावरण बनाउने बेला हो । यस्तो बेलामा पार्टीको आन्तरिक निर्वाचनमा आफूसंग प्रतिष्पर्धा गरेको भोट नहालेका कार्यकतालाई किनारा लगाउन खोज्ने, पार्टीको पदीय मर्यादालाई बेवास्ता गर्ने, अपमान गर्ने जुनप्रबृत्ति सभापति युवराज जोशीमा हावी देखिएको छ, यसले कांग्रेस बलियो बनाउने होइन यस्तो कार्यले कांग्रेसलाई सक्ने बाहेक अरु काम नगर्ने पक्का छ । म ०४८ सालको निर्वाचनदेखि कांग्रेसको चारतारे झन्डा र रुख देख्दा स्कुल छाडेर आमसभामा पुग्ने गर्थे । मलाई राजनीति सिकाउने र हिडाने मेरा गुरुहरू मेरो माइलो बुबा डम्बरबहादुर मल्ल, भवानीशंकर पौडेल हुनुहुन्थो ।

मेरो पहिलो अनुभव लेखफाँट गिदेश्वारको आमसभामा पुगेको थिए । जुन घटना घट्यो तो बेलादेखि हरेक संघस भोगदै आफू सकिएको थाहा नपाई पार्टी र नेताभन्दै यहाँसम्म आएको छु । यो कुरा सबैलाई थाहा नै छ । ०४९ स्थानीय चुनाव, ०५१ को मध्यावती चुनाव, ०५४, स्थानीय चुनाव त्यसपछि ०५६ को चुनावमा मेरो राजनीतिक गुरु भवानीशकर पौडेलको टिकट खोसिँदा पनि उल्टै अर्जुन जोशीलाई के–के गरेनन् ? हामी मल्लाजीहरूले सबैभन्दा बढी भोट हालेर जिताएकै हो । मल्लाजीहरू सधै पार्टीप्रति बफदार छन् । मल्लाजीहरूलाई अब खेलाउना नसम्झनु होला । त्यो दिन तपाईको लागि अब नआउनसक्छ । ०६४ को चुनाबमा पनि तोभन्दा बढि गरियो ०७० को चुनावमा त के–के गरिएन पैसा गाडी स्वय म आफै वडा–वडामा एजेड धेरै गराउनको लागि स्वतन्त्र उमेदवार भएर अर्जुन जोशीलाई जिताउन सक्रिय भूमिका खेलेदेखि अहिले पनि हरेक बखत संगठित र मजबुत कांग्रेस निर्माणकै सपना देख्ने गर्छु ।

म कांग्रेसको जिल्ला कोषाध्यक्ष र जलजला गाउँपालिकाको अध्यक्ष हुँदै गर्दा र आजसम्म आउँदै गर्दा पार्टीमा मेरो पनि थुप्रै लगानी छ । पार्टी कार्यलयको कुरा गरु, सबैभन्दा धेरै पैसा मैले नै हालेको छु । म पार्टी कार्यालय जाँदा मुखामुख गरिन्छ । जुन पदमा रहँदा पनि मेरो ब्यक्तिगत फाइदा कहिल्यै हेरिन । मेरो अहिले अबस्था सबैलाई थाहा नै छ । म आफू सकिएर भएपनि पार्टी र संगठनको निर्माणमा लागिरहनेछु । म समग्र पार्टीका नेता तथा कांग्रेसको भ्रातृ तथा शुभेच्छुक संस्थालाई सबल, सक्षम बनाउन उनीहरूलाई आवश्यकतानुसारको सहयोग गर्नमा केन्द्रित भएँ । त्यो आज पनि जगजाहेर नै छ । टकलाकदेखि बासखर्क र आर्थरदेखि भुकसम्मका जुनसुकै कार्यकर्ता वा आम नागरिकलाई समस्या र पीडा हुँदा पनि म आफ्नो समस्या र पीडा सम्झेर हातेमालो गरे । जुनसुकै ब्यक्ति र संस्थाले दुःख बिसाउँदा रित्तोहात कहिल्यै र कसैलाई फर्काइन । आजसम्म पार्टीकै हित र आम पर्वतबासीको पीडामा चिन्तित हुने मलाई जुन किसिमले अहिलेको पार्टी नेतृत्वले हर्कत गरेको छ, त्यसले समग्र पर्वतबासीलाई अपमान गरेको मैले महसुस गरेको छु ।

म ०७८ सालको कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको उम्मेदवार थिए । प्राविधिक कारणले झिनो मतले म उपबिजेता बने । यो कुनै फरक बिचार बोक्नेसंगको प्रतिष्पर्धा होइन, यो त केवल कांग्रेसको आन्तरिक निर्वाचनको प्रतिष्पर्धा हो । म निर्वाचनमा प्रतिष्पर्धा गर्दैगर्दा अहिले मलाई बिपक्षी पार्टीभन्दा फरक किसिमले जुन ब्यवहार गरिएको छ, यसले समग्र कांग्रेस पर्वतलाई समाप्त पार्ने, ध्वस्त पार्ने कुटिल मनसाय जिल्ला नेतृत्वमा देखा परेको महसुस गरेको छु । हरेक प्रतिष्पर्धीलाई सोही समितिमा राखेर न्यायोचित ब्यवहार गर्ने, सल्लाह, सुझाव ग्रहण गर्ने, उसका बिचारमा पनि सुन्ने कांग्रेसको बिधान र कांग्रेसको मूल्यमान्यता हो । अहिले पर्वतमा म निर्वाचनमा प्रतिष्र्धा गरेकै आधारमा भूमिका बिहीन गराउने, मेरो पदमाथि धावा बोल्ने, अपमान गर्ने, मभन्दा तलका पद भएकालाई भूमिका दिने तर, औपचारिक मञ्चमा समेत बेवास्ता गर्ने जुन कुनियत युवराज जोशीले गरेका छन्, त्यसको नतिजा निकट भविष्यमै प्रकट हुने निश्चित छ । कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको सभापति पदमा अर्जुनप्रसाद जोशीले प्रतिष्पर्धा गर्नुभयो, उहाँ उपबिजेता बन्नुभयो ।

त्यो बन्दैगर्दा सभापति शुक्रराज शर्माले अहिले पनि अर्जुनप्रसाद जोशीलाई पदीयमर्यादामा राख्ने काम गर्नुभएको छ । म जिल्ला सभापतिमा झिनो मतले उपबिजेता भएपनि मेरो मात्र नभई मैले प्राप्त गरेको चार सय ५९ जना मतदाताको भावनाको कदर गर्न सक्नुपर्थ्यो । जिल्ला सभापति युवराज जोशीले पेलेरै जाने नियत राख्नुभएको छ । यसले दुर्भाग्य निम्त्याउने निश्चित नै छ । पार्टी संस्था हो । संस्थामा एउटा ब्यक्ति नेतृत्वमा पुग्छ । त्यो संस्थागत पार्टी नेतृत्वको पेवा होइन । पार्टी ब्यक्तिको होइन । आज पर्वतमा कांग्रेसलाई ब्यक्तिको पेवा बनाउन खोजिदैछ, त्यसले बिग्रह ल्याउछ । नेतृत्वको पार्टीमा बिग्रह ल्याउने नियत हो की मिलाएर पार्टीलाई एकढिक्का गराएर लैजाने नियत हो । स्थानीय तहको निर्वाचनपछि कांग्रेस पर्वतले पहिलो पटक मलाई पार्टीका केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्का आउने कार्यक्रममा निमन्त्रणा गयो । म कुनैपनि आग्रह पूर्वाग्रह नराखी कार्यक्रममा सहभागी भए ।

तर, म कांग्रेस गण्डकी प्रदेश कार्य समितिको सदस्यलाई पालिका सभापति तल लगेर मर्यादा क्रममा राखियो । वडासभापतिसम्मलाई मन्तब्य राख्ने अवसर दिँदैगर्दा मलाई मञ्चमा आसनग्रहण गर्न समेत बोलाइएन । म तल्लो लेबलबाट आएको ब्यक्ति हो । मलाई कसैले मञ्च नदिँदैमा कुनै हिनताबोध छैन र म सकेसम्म मञ्चभन्दा तल नै बस्न मन पराउने ब्यक्ति पनि हो । परिस्थितिमा नियत खराब भएका ब्यक्तिको दादागिरीले गर्दा यति लामो समयसम्म पार्टीको हित, संगठन र एकतामा लागिरहँदा दुःख लाग्ने रहेछ । प्रतिष्पर्धी भएकै कारण किनारा लगाउने नियत राख्ने हो भने पार्टीको भविष्य कहाँ पुग्ला ? आज स्थानीय तहको निर्वाचनमा पर्वतका सभापतिजीले जुन मनोमानी र गठबन्धनको नाममा आफ्नै नेता कार्यकर्तालाई दबाउने काम गर्नुभयो यसले समग्र जिल्लाका कांग्रेसीजनको आत्मसम्मानमा चोट पुर्‍याएको छ । वडा–वडामा कांग्रेसीहरू रोएर बस्नुपरेको छ । कांग्रेसजस्तो पार्टीमा पनि चित्त नबुझेको कुरा राख्न नपाउने, आन्तरिक प्रतिष्पर्धा गरेकै आधारमा गलहत्याउन खोज्ने काम जसले गर्छ, त्यो कांग्रेस हुनैसक्दैन ।

(युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ पर्वत कांग्रेसका पूर्वकोषाध्यक्ष र १४औँ महाधिवेशनमा सभापतिमा दोस्रो स्थानमा पराजित भएका थिए)

Published : Sunday, 2022 June 12, 10:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया