कोरोनामा सरकारको चरम लापरबाही, असफल भए मन्त्री

सम्पादकीय

कोरोनाले चीनको तथ्याङकलाई काटिसकेको छ । सरकारले कोरोना रोकथाममा जसरी काम गर्नुपर्ने थियो गर्न सकिरहेको छैन । दैनिक सरह कोरोना संक्रमितको संख्या बढने क्रममा छन् । यसरी बढदै जाने हो भने इटालीको अवस्था काठमाडौंमा नआउला भन्न सकिदैन । सरकारले अस्पतालहरू नभरिदासम्म केही गर्न सक्ने अवस्था छैन भन्छ । कहिले बेहोस भएपछि मात्रै अस्पताल जानु होला भन्ने सरकारबाट आशा र भरोसा छैन ।

पहुँच भएका व्यक्तिका लागि सरकारी अस्पतालहरूमा अहिले पनि बेड, आईसीयुलगायतका सुविधा छन् । जनताको लागि त्यो सुविधा छैन । जनता मरे पनि मरुन् सरकार मौन छ । सरकारको काम भनेको प्रत्येक दिन साँझ चार बजे नियमित पत्रकार सम्मेलन गरेर संक्रमित र मृत्यु भएका व्यक्तिको तथ्याङक दिने मात्रै रहेको छ ।

नियमित पत्रकार सम्मेलनमा सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचारमा गरेका ठोस निर्णयहरू सुन्न पाइँदैन । यसरी स्वास्थ्य मन्त्रालयका प्रवक्ताको बकबकले कोरोना संक्रमितलाई हौसलाभन्दा पनि तनाब दिने गरिएको छ । यो पत्रकार सम्मेलन आवश्यक छैन । पत्रकार सम्मेलन रोक्नुपर्छ ।

सरकारले अहिलेसम्म कोरोना संक्रमितको उपचारका लागि सहि ढंगले काम गरेको छैन । काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताललाई कोभिड–१९ अस्पताल घोषणा गरे पनि ती अस्पतालहरूले बिरामीलाई भर्ना लिन मान्दैनन् ।

घरमै होम आइसोलेसन बसेर उपचार गर्न भन्दै फिर्ता पठाइदिन्छन् । काठमाडौंमा भाडामा बस्ने अर्थात एउटा कोठा लिएर बस्ने धेरै व्यक्तिहरू छन् । उनीहरूलाई सरकारले कसरी उपचार गर्ने भन्ने ध्यान नै दिएको छैन ।

क्वारेन्टिनको व्यवस्था छैन । सरकारले तोकिदिएको क्वारेन्टिनमा बस्न धेरै व्यक्तिहरू तयार छन् । तर, सरकारले त्यो पनि गर्दैन । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिका र महानगरपालिकाहरूले पनि उचित क्वारेन्टिनको व्यवस्था गरेका छैनन् । उनीहरूको यही अकर्मन्यताले गर्दा जनताले कोरोनाबाट दुःख पाइरहेका छन् ।

यो भयाबह अवस्था अझै पनि बढ्नेछ । सरकारले अहिले पनि लापरबाही गरिरहेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकारको ठोस कुरा आउन सकिरहेको छैन । काठमाडौंका सडकमा कोरोनाका बिरामीहरू बाक्लै भेटिन थालेका छन् ।

अस्पतालले भर्ना नलिने, घरबेटीले कोठामा प्रवेश गर्न नदिने त्यस्तो अवस्था आइसकेको छ । यसलाई सरकारले समयमा ध्यान दिनुपर्छ । होइन भने काठमाडौं उपत्यका मात्रै होइन, काठमाडौं उपत्यका बाहिरको अवस्था पनि भयाबह हुन सक्छ ।

Published : Thursday, 2020 October 15, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया