नोवल कोरोना के हो ? यसरी बच्न सकिन्छ

काठमाडौं । ‘नोवल कोरोना भाइरस’को संक्रमण नेपालमा देखापरेको छ । चीनमा देखिएको निमोनिया बनाउन सक्ने नयाँ प्रकारको नोवल कोरोनाबाट बच्न उच्च सर्तकता अपनाउन शुरु गरिएको छ ।

विशेषज्ञहरूले सुरुमा सामान्य संक्रमण देखिए पनि तीव्र गतिमा विकसित हुँदै जटिल अवस्थामा पुग्ने सम्भावना रहेको यो संक्रमणको तुरुन्त पहिचान गरेर छिट्टै र छुट्टै उपचार गर्नु अत्यावश्यक रहेको जनाएका छन् ।

वैज्ञानिक नाम ‘२०१९–एन सीओभी’ भएको यस भाइरसको बढ्दो प्रकोपलाई दृष्टिगत गर्दै सरकारले चीनबाट आएका शंकास्पद ज्वरोका बिरामीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्थ डेस्कमार्फत विशेष निगरानीसमेत थालेको छ ।

डब्लूएचओले हालसम्म चीन बाहिर एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरसको संक्रमण नसरेको समेत औंल्याएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावनालाई भने नकारेको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले भनेका छन्, ‘चीनमा हाम्रो (डब्लूएचओ) टोलीले स्थानीय विशेषज्ञ र अधिकारीहरूसँग मिलेर काम गरिरहेको छ ।’

नोवल कोरोना भाइरस हालै पत्ता लागेको नयाँ भाइरस रहेको औंल्याउँदै डा. टेड्रसले यो भाइरस सबैभन्दा पहिले देखिएको चीनको हुवई प्रान्तको वुहान सहरको समुद्री खाद्य बजारमा तुरुन्त एक्सन लिइएको समेत जनाए ।

श्वासप्रश्वाससम्बन्धी संक्रमण सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोमा (मर्स) भाइरसजस्तै यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको औंल्याउँदै विशेषज्ञहरूले ‘ब्रेक द चेन अफ ट्रान्समिसन’ (एकबाट अर्कोमा संक्रमण सर्ने कडीलाई तोडौं) लाई मुख्य आधार बनाउँदै नियन्त्रणको प्रयास जारी राखिएको बताएका छन् ।

हाच्छिउँ गर्दा, खोक्दा मुखबाट निस्किने पानीको स–साना थोपा (ड्रप्लेट)का माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा नोवल कोरोना भाइरसको संक्रमण सरिरहेको समेत इमर्जेन्सी कमिटीका विज्ञहरूले औंल्याएका छन् ।

यो भाइरसको म्युटेसन (उत्परिवर्तन) सम्बन्धी प्रश्नमा डब्लूएचओका विशेषज्ञहरूले वंशाणुगत विविधता (जेनेटिक डाइभर्सिटी) अन्तर्गत ठूलो परिवर्तन हालसम्म नदेखिएको जनाए ।

डब्लूएचओको समन्वयमा सरकारले चीनबाट आएका शंकास्पद रुघाको लक्षणसहित घाँटी दुखाइ, ज्वरोका बिरामीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्थ डेस्कमार्फत निगरानीसमेत बढाएको छ ।

वुहानबाट फर्केका नेपाली विद्यार्थीमा ज्वरोलगायतका लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अन्य बिरामीभन्दा छुट्टै चिकित्सकीय निगरानीमा समेत राखिएको थियो । ती शंकास्पद बिरामीको घाँटीको ¥याल र रगतको परीक्षण गर्न गतबुधबार हङकङ पठाइएको थियो ।

रिपोर्टअनुसार, उनमा नोवल कोरोना भाइरस देखिएको छ । नेपालमा हालसम्म नोवल कोरोना भाइरस पहिचान गर्न प्रयोगशाला परीक्षण हुने गरेको छैन ।

नोवल कोरोना कति खतरनाक छ ?

विशेषज्ञहरूका अनुसार, चीनमा देखिएर विश्वभर तीव्र गतिमा विस्तार भइरहेको नोवल कोरोना भाइरस धेरै खतरनाक रूपमा प्रस्तुत भइरहेको छ ।

हालसम्म कुनै विशिष्ट उपचार नभएको कडा निमोनियालगायतका स्वास्थ्यमा जटिलता ल्याउन सक्ने यो भाइरसले सामान्य रोगदेखि गम्भीर रोगसमेत लगाउन सक्छ ।

भाइरसको इन्फेक्टिभिटी रेट (संक्रामकताको दर), सिभियरिटी रेट (गम्भीरताको दर) र मर्टि्लिटी रेट (मृत्युदर) समेत बढी देखिएको छ ।

नोवल कोरोना भाइरस देखिएका सबै केसमध्ये करीव २५ प्रतिशतभन्दा बढी केस क्रिटिकल (नाजुक) अवस्थाका देखिएको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रस अधानोम गेब्रियससले समेत नोवल कोरोना भाइरसबाट हालसम्म संक्रमित भएकाहरूमध्ये एक चौथाइले नाजुक बिरामी भएको अनुभूति गरेको बताए ।

वैज्ञानिक नाम ‘२०१९–एन सीओभी’ रहेको ‘नोवल कोरोना भाइरस’ यसअघि विश्वको कुनै पनि भागमा देखिएको थिएन । यो नयाँ भाइरसको ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ (सार्स) उत्पन्न गर्ने भाइरसकै एउटा प्रकार हो ।

कोरोना भाइरस विभिन्न भाइरसको एउटा समूह हो, जो मानिसलगायत स्तनधारी प्राणीको श्वासनलीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू उत्पन्न गर्न सक्छ ।

इलेक्ट्रोन माइक्रोस्कोपमा यो भाइरस क्राउन (मुकुट) को आकारमा देखिने भएकाले यसको नाम कोरोना भाइरस रहेको हो । ल्याटिन भाषामा मुकुटलाई कोरोना भनिन्छ ।

धेरैजसो कोरोना भाइरस हानिकारक नभए पनि यसको सार्स र मर्स उत्पन्न गर्ने प्रकार मनुष्यको लागि खतरनाक मानिन्छ । चिकित्सा इतिहासअन्तर्गत मानिसमा पहिलो कोरोना भाइरस सन् १९६० मा सामान्य रुघाखोकीले ग्रस्त व्यक्तिको नाकमा पाइएको थियो । यसअघि सन् १९३७ मा जनावरमा पहिलो कोरोना भाइरस पक्षीमा संक्रमित ब्रोकाइटिस भाइरसका रूपमा पाइएको थियो ।

नोवल कोरोना भाइरसले उच्च रक्तचाप, मधुमेह, मुटु र रक्तनली सम्बन्धी रोग (कोरोनरी भास्कुलर डिजिज) लगायत शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूमा बढी कडा रूपमा देखिएको छ ।

हालसम्म यो भाइरस पाको उमेर भएकाहरूलाई कडा रूपमा देखिएको छ भने दुई तिहाइ संक्रमित पुरुष छन् । डब्लूएचओको तथ्यांकअनुसार, कूल संक्रमितमध्ये ७२ प्रतिशत ४० वर्षमाथिका छन् । यस्तै संक्रमितहरूमा ६४ प्रतिशत पुरुष छन् ।

विभिन्न मिडिया रिपोर्टमा नोवल कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालसम्म यसबारे सही जानकारी आइसकेको छैन । डब्लूएचओले यो भाइरस सम्भवतः पशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट सरेको हो भन्नेबारे अझै स्पष्ट भइनसकेको जनाएको छ ।

चीनको वुहानस्थित समुद्री खाद्य बजारलगायत प्रभावित क्षेत्रहरूका पशुबाट थुप्रै नमूना संकलन गरिएको छ ।

भाइरसले संक्रमित भई जटिल अवस्थामा पुगेकाहरूलाई लाक्षणिक उपचार गरिन्छ । छाती रोग विशेषज्ञ डा. दासका अनुसार, यदि सास फेर्न असजिलो, एक सय डिग्री फरेनहाइटभन्दा बढीको तीव्र ज्वरो, बान्ता, पखालाजस्ता समस्या ४८ घण्टाभन्दा बढी समय देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

डब्लूएचओका विशेषज्ञहरूका अनुसार, जटिल अवस्थाका संक्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी स्याहार र उपचारको आवश्यकता हुन्छ ।

जटिल अवस्थामा शरीरका धेरैजसो अंगले काम गर्न छोड्ने अवस्थासमेत आउन सक्ने भएकाले ‘मल्टिपल अर्गेन सपोर्ट’ चाहिन्छ ।

बच्ने उपाय

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ?

खोक्दा वा हाच्छिउँपछि, बिरामी व्यक्तिको स्याहार गरेपछि, चर्पी प्रयोग गरेपछि, हात फोहोर देखिएपछि, बाहिरबाट घर आएपछि, जनावर वा जनावरको फोहोर छोएपछि

Published : Saturday, 2020 January 25, 8:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया