नाका, कान र घाँटीको क्यान्सरबाट कसरी बच्ने ?

काठमाडौं । नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको सुन्न र समाचार पढ्न पाइन्छ । यी क्यान्सर रोगीको संख्या पनि कम छैनन् ।

सामान्यतया मानिसको शरीरमा कोशिकाको साधारण विभाजन हुन्छ । क्यान्सरमा अनियन्त्रित कोशिकाको वृद्धि हुन्छ । त्यो फ्याक्टरलाई चाहेर पनि रोक्न सकिँदैन ।

शरीरको अन्य क्यान्सरजस्तै हो, यो क्यान्सर पनि । यसमा एउटा मात्र कारण होइन विभिन्न कारण समावेश हुन्छन् ।

चुरोट, तमाखु, बिडी, गुट्खा, पान पराग, रक्सी सेवन आदिका कारणले क्यान्सर हुन्छ । अर्को कारण जिन पनि हो । खानेकुराबाट पनि क्यान्सर हुन्छ । कार्सिनोजेनिक खाना (क्यान्सर गराउने खाद्य तत्व) ले गर्दा पनि क्यान्सर हुनसक्छ । धेरै पिरो तथा पोलेका खानेकुराबाट क्यान्सर लाग्ने सम्भावना हुन्छ ।

चिचिकित्सकहरूका अनुसार कहिलेकाहीँ मुखको घाउ लामो समयसम्म निको नभए उक्त घाउ क्यान्सरमा परिणत हुनसक्छ । मुखमा घाउ हुँदा र बांगिएको दाँतले त्यो घाउमा छुँदा लामो समयसम्म मुखको घाउ निको हुँदैन ।

मुखभित्र सेतो दाग–धब्बा आए त्यो पनि क्यान्सरमा परिणत हुनसक्छ । काठको काम गर्ने मानिसलाई काठको धूलोले नाकको क्यान्सर हुनसक्छ ।

चुरोट खाने मानिसलाई घाँटीको क्यान्सर हुन्छ । यो क्यान्सरलाई रक्सी सेवनले थप बढावा दिन्छ ।

पहिलो चरणमा यो चरणमा क्यान्सर सीमित भागमा मात्र हुन्छ । यसमा कुनै पनि अंग खेर जाँदैन । शुरुको अवस्थामा क्यान्सर सीमित भागमा मात्र भएकाले सर्जरी तथा रेडियोथेरापीबाट उपचार गर्न सकिन्छ ।

दोस्रो चरणमा यो क्यान्सर नजिकैको भागमा फिजिएको हुन्छ । यसलाई सर्जरी गरेर ठीक गर्न सकिन्छ । कुनै–कुनैमा सर्जरी तथा रेडियोथेरापी गराउनुपर्ने हुन्छ । यो चरणमा पनि क्यान्सरको उपचार सम्भव हुन्छ ।

तेस्रो चरण पुगेको क्यान्सर धेरै फैलिसकेको हुन्छ । यसमा एउटा मात्र उपचार नभई विभिन्न उपचारको आवश्यकता पर्छ । यसमा सर्जरी तथा रेडियोथेरापी, सर्जरी तथा किमोथेरापी तथा रेडियोकिमोथेरापी तथाा रेडियोकिमोथेरापी आवश्यक पर्न सक्छ ।

चौथो चरणमा क्यान्सर धेरै फैलिसकेको हुन्छ । एउटामा मात्र नभएर अन्य अंगमा पनि क्यान्सर फैलिसकेको हुन्छ । रोगीको बाँच्ने सम्भावना पनि कम हुन्छ ।

उपचारपछि पनि पूर्णरूपमा रोग निको हुने सम्भावना कम हुन्छ । यस्ता बिरामीलाई सहज होस् भनेर सास फेर्न सजिलोका लागि ट्युबको प्रयोग तथा खाना खान सजिलोका लागि नली राखिदिएर, पीडा कम गर्न औषधि तथा रेडियोथेरापीको प्रयोग गरिन्छ ।

यसैगरी रगत बगेको छ भने रगतका नसाहरू (जुन क्यान्सरको कारणले बनेका हुन्छन्) सुकाउन रेडियोथेरापी दिइन्छ ।

सामान्यतया ३० देखि ५० वर्षका मानिसमा नाक, कान, घाँटीको क्यान्सर देखापर्ने गर्छ । विश्वमा महिलाको तुलनामा पुरुषमा यस्तो क्यान्सर बढी पाइएको छ । पुरुषले बढी धूम्रपान तथा मद्यपान गर्ने भएकाले यस्तो भएको हो ।

कानका क्यान्सर रोगी नेपालमा कमै भेटिन्छन् । कानको क्यान्सर भए दिमागमा फैलने सम्भावना हुन्छ । घाँटीको क्यान्सर पुरुषमा नै बढी देखापरेको छ । यस्तो क्यान्सर लागेको मानिसको बोलाइको तालमा फरक हुन्छ । त्यसले बोल्ने र आवाज निकाल्ने अंगमा असर पार्छ ।

अहिले थाइराइड क्यान्सर धेरै देखिएको छ । यो क्यान्सर भने महिलामा बढी देखिन्छ ।

मुखको क्यान्सर मुखमा आएको घाउ लामो समयसम्म निको नहुनु, मुखमा अल्सर आउनु, मुख वा जिब्रोमा मासु पलाउनु, दाग–धब्बा आउनुले थाहा पाउन सकिन्छ ।

घाँटीको क्यान्सर आवाज धोद्रो हुनु । सास फेर्न गाह्रो हुनु, खाना निल्न गाह्रो हुनु, घाँटी सुन्निनु वा डल्लो ग्लान्ड आउँछ ।

कानको क्यान्सर कान डम्म हुनु, कानबाट रगत आउनु, कान नसुन्नु पनि हुन्छ ।

धूम्रपान तथा मद्यपान नगर्ने । पोलेको तथा धेरै पिरो खानेकुरा नखाने । मुखमा दाग–धब्बा आए वा घाउ निको नभए समयमै चिकित्सकको सल्लाह लिने ।

सर्जरी तथा रेडियोथेरापीबाट यसको उपचार गर्न सकिन्छ । कतिपय अवस्थामा केमोथोरापीको पनि आवश्यकता पर्छ ।

समयमै अर्थात् सुरुवातको अवस्थामा थाहा पाए क्यान्सर रोगको उपचार सर्जरीबाट सम्भव हुन्छ तसर्थ रोग लागे तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ ।

उपचारपछि पनि नियमित चेकअप गराउनुपर्छ । यसको उपचार टिमवर्कमा गर्नुपर्छ । क्यान्सर जति खतरनाक भए पनि समयमै पत्ता लगाएर उचित उपचार भएको खण्डमा यसलाई निको पार्न सकिन्छ ।

Published : Friday, 2019 June 14, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया