सभापति देउवाले शुभकामना दिँदै भने- निहीत बन्धुत्व भावले विविधताबीच अनुपम एकता
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तिहार तथा नेपाल सम्वत् ११४५ को शुभकामना दिएका छन् ।
बिहीबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर नेपालीहरूको महान चाड तिहार तथा नेपाल सम्वतको नयाँ वर्ष ११४५ को सुखद् अवसरमा शुभकामना दिएका हुन् ।
उनले भने, ‘म स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
‘नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो’, सभापति देउवाले भनेका छन् ।
‘हामीमा निहीत बन्धुत्व भावले विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ’, उनले भने, ‘तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ ।’
उनले भने, ‘तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरूमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरूबीच तथा आफन्तहरूबीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।’
सभापति देउवाले भने, ‘बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ ।’
‘नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो’, देउवाले भने, ‘नेपाल सम्वतको नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाः को योगदानलाई सम्झाउँछ ।’
‘यसको प्रचलन तिनै समाजसेवी साख्वाः ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो’, उनले भने ।
‘शंखधर साख्वाः लाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं’, सभापति देउवाले भनेका छन् ।
‘अन्त्यमा, अन्धकार विनास गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वतको नयाँ दिनले हाम्रो पारस्परिक एकता र सदभावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल सम्वतको नयाँ वर्षको उपलक्ष्यमा म सबैमा सुख, शान्ति र समृद्धिको पुनः शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया