अंग्रेजी दैनिक द हिमालयनमाथि छानविन समिति गठन, दृष्टिको डकुमेन्ट अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
काठमाडौं । एकपक्षीय र प्रायोजित समाचार सम्प्रेषण गरेको उजुरीमा प्रेस काउन्सिल नेपालले अंग्रेजी दैनिक पत्रिका ‘द हिमालयन’माथि गम्भीर अनुसन्धान शुरु गरेको छ ।
काउन्सिलले शुक्रबार त्यसबारे विशेष अध्ययन गरी प्रतिवेदन पेस गर्न बोर्ड सदस्य ठाकुर बेल्वासेको संयोजकत्वमा ३ सदस्य कार्यदल समेत गठन गरेको छ ।
द हिमालयन टाइम्स दैनिक र यसको अनलाइनपोर्टलबाट ईलाइट हिमालयन एडभेन्चर्स प्रा.लि. र निर्मल पुर्जाको नामसँग जोडेर विभिन्न मितिमा पटक पटक एकपक्षीय सामग्री सम्प्रेषण गरेको भनी दर्ता भएको उजुरीका सम्बन्धमा थप अध्ययन गर्न प्रेस काउन्सिलले कार्यदल गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो खालको कार्यदल काउन्सिलले अपवादजन्य घट्नामा मात्र गठन गरी विशेष अनुसन्धान गर्ने गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यतामा रहेको आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकले कार्यदलबारे निर्णय गरेको थियो ।
दृष्टि मिडिया प्रा.लि.द्वारा सञ्चालित दृष्टिन्यूज डटकमको परिचयपत्र, कार्यअनुभव पत्र लगायत नक्कली कागजपत्र बनाइ मिडियाको छाप र हस्ताक्षरसमेत नक्कली बनाइ अष्ट्रेलियाका लागि भिसा आवेदन गरेको विषयमा थप अनुसन्धान गर्न काउन्सिलले नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालयलाई समेत लेखी पठाएको छ ।
आचारसंहिता उपसमितिमा अध्यक्ष बस्नेत, काउन्सिलका सदस्यहरू ठाकुर बेल्वासे, गणेश पोखरेल, शरद अधिकारी, लालबाबु शेख र नेपाल बार एशोसिएसनका प्रतिनिधि रहेको महासचिव अधिवक्ता अन्जिता खनालको सहभागिता थियो ।
बैठकपछि सहप्रशासकीय अधिकृत रामशरण बोहोराले जारी गरेको विज्ञप्तिमा पत्रकार तथा सञ्चार माध्यमले सत्यतथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, समाचारका सम्बन्धमा सम्बन्धित पक्षको भनाइ एवं प्रतिक्रियालाई स्थान दिनुपर्ने, पेसागत आचरणविपरीत क्रियाकलाप गर्न नहुने पत्रकार आचारसंहितामा प्रष्ट व्यवस्था विपरित काम भएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
यस्ता क्रियाकलापबाट सजग रहन सञ्चार माध्यम, आम पत्रकार, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध पक्षलाई काउन्सिलले चेतावनी समेत दिएको छ ।
पछिल्लो समय प्रेस काउन्सिलले आचारसंहिता विपरितका विभिन्न गतिविधिमा केन्द्रित मिडिया र पत्रकारमाथि कडा कारवाही र निगरानी गर्दै आएको छ । मिडियाका नाममा चल्ने युट्युवमाथि समेत काउन्सिलले कडाई गर्दै आएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया