संविधान नेपाली जनताको निकै लामो संघर्ष र बलिदानको दस्ताबेज : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताको निकै लामो संघर्ष र बलिदानको दस्ताबेज भएको बताएकी छिन् ।
क्यानडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै डा.राणाले लोकतान्त्रिक शासन व्यवस्थामार्फत् संविधान तयार गर्न नेपाली जनताले निकै लामो संघर्ष गर्नुपरेको बताएकी हुन् ।
उनले भनिन्, ‘नेपालको संविधान २०७२ को घोषणा नेपाली इतिहासको एक महत्वपूर्ण क्षण हो । यो लोकतान्त्रिक संविधान नेपाली जनताको बृहत् सहभागितामा बनेको समावेशी र प्रतिनिधिमूलक संविधान सभाले निर्माण गरेको हो उनले भनिन् ।’
‘त्यसैले यो नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण भएको संविधान हो’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।
‘यसकारण पनि यो संविधानले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक भावनाको प्रतिनिधित्व गर्दछ र जसले समावेशी र लोकतान्त्रिक समाज निर्माणमा सहयोग पुर्याउँदछ’, डा.राणाले भनेकी छिन् ।
विश्वव्यापी रुपमा स्वीकार गरिएका मानवअधिकार र नागरिक स्वतन्त्रताका मान्यताहरूलाई सम्मान गर्नु यो संविधानको एक महत्वपूर्ण पक्ष भएको उनले बताएकी छिन् । परराष्ट्रमन्त्री डा.राणाले अहिलेको संविधान शान्ति र समावेशिताको एक प्रतीक रहेको बताएकी छिन् ।
नेपालको संविधानले नागरिकका अधिकारहरूको संरक्षण गर्दै कानूनी राज्यको मूल्यमान्यता अनुसार हरेक क्षेत्र र तहका नागरिकलाई आत्मसम्मानका साथ बाँच्ने अधिकार प्रदान गरेको डा.राणाले बताएकी छिन् ।
डा.राणाले अहिलेको संविधानले मुलुकमा पछि परेका तथा उपेक्षित अवस्थामा रहेका हरेक समुदायका नागरिक तथा महिलालाई राज्यका सबै निकायमा प्रतिनिधित्व गराई उनीहरूको कानूनी अधिकार सुनिश्चितताको व्यवस्था गरेकाले विश्वकै लोकतान्त्रिक संविधानको एक दस्ताबेज भएको बताएकी छिन् ।
‘मलाई लाग्छ हाम्रो संविधान विश्वकै एक समावेशी संविधान मध्येको एक हो, जसले संघीय संसद र प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ’, उनले भनिन् ।
संविधान कार्यान्वयनमा आएको करिब एक दशकमा नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता राज्यका उच्च निकायमा महिला पुग्न सफल भएको उनले बताएकी छिन् । परराष्ट्रमन्त्री डा.राणाले देशका निजामती कर्मचारी, सुरक्षा निकाय एवं अन्य क्षेत्रमा पनि महिलाको प्रतिनिधित्व बढ्दै गएको बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालको प्रजातान्त्रिक प्रक्रिया र संविधान लेखनको अभियानमा क्यानडा सरकारले गरेको सहयोगको पनि सराहना गरेकी छिन् ।
प्रजातन्त्र, मानवअधिकार र कानूनी शासनजस्ता आधारभूत विषयहरूमा दुवै देशको समान धारणा रहँदै आएको पनि मन्त्री डा.राणाले बताएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया