कांग्रेस नेता भण्डारी बालेनको पक्षमा खुले, संयम् भएर बोल्न प्रधानमन्त्रीलाई चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिहरूको आलोचना गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गरेर नेता भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई लक्षित गरेर दिइएका प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरूमा असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई मेयर बालेनका गतिविधिप्रति चिक्त बुझेको छैन भने अभिभावकको रुपमा बोलाएर कुरा गर्नुपर्ने भन्दै कांग्रेस नेता भण्डारीले एमालेका कार्यकर्तालाई निर्देशन दिएर हुर्मत लिने कार्य गर्न नहुने बताए ।
‘नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्रीज्यू मुलुकको महत्वपूर्ण राजनीतिक दलको प्रमुख हो भने मुलुकको प्रधानमन्त्री पनि हो’, उनले भने, ‘स्वभावतः वहाबाट सभ्य, सुसंस्कृत र परिपक्क व्यवहार तथा बोलीको अपेक्षा हुन्छ ।’
‘वहाँका विचार, अभिव्यक्ति र व्यवहारले देशलाई निर्देशित गर्नुपर्दछ र आम नागरिकमा आशाको सञ्चार गराउने तथा आपसी सद्भाव बढाउन मद्धत गर्नु पर्दछ’, नेता भण्डारीले भने ।
उनले भने, ‘केही समयदेखि त्यस्तो अवस्था देखिएको छैन । पार्टी अध्यक्षको हैसियले वहाले पार्टी नेताहरूलाई विपक्षीका विरुद्धमा आक्रामक ढंगबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आम नागरिकले सकारात्मक रुपमा लिएका छैनन् ।’
‘त्यसका अतिरिक्त कुनै व्यक्ति विशेष तथा संस्था विशेष प्रति पनि वहाँका कडा र अस्वभाविक टिप्पणीहरू बाहिर आएका छन्’, उनले भने, ‘जस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित तिखा टिप्पणीहरू चर्चामा छन् ।’
भण्डारीले भने, ‘काठमाडौ महानगरका मेयरलाई जनताले निर्वाचित गरेका हुन्, काठमाडौं महानगरलाई व्यवस्थित बनाउनका लागि उनी क्रियाशील नै देखिन्छन् ।’
‘केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने हो, हुर्मत लिने तथा आलोचना गर्न सिंगो पार्टीपतिंलाई निर्देशन दिने विषय त्यती सुहाउँदो लागेन’, उनले भने, ‘देशको एक जिम्मेवार नेता एवम् प्रधानमन्त्रीको पदमा आसीन व्यक्ति भएकाले वहाँ राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न राम्रो हुने व्यहोरा सविनय अनुरोध गर्दछु ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया