प्रचण्डलाई ठीक ठाउँमा नराखेर गल्ती गरिएछ, अब प्रतिपक्ष कमजोर नहुने भयो : रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा प्रतिपक्षमा नराखी प्रधानमन्त्री बनाउनु गल्ती भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत माग्ने प्रस्ताव पेश गरेपछि बोल्दै लेखकले दाहाल प्रतिपक्षमा बस्न सुहाउने व्यक्ति भएको बताए ।
कांग्रेसका सांसद लेखकले भने, ‘मेरो सम्मानित नेता प्रचण्डको भाषण सुन्दा उहाँलाई ठीक ठाउँमा नराखेर गल्ती गरिएछ, अब प्रतिपक्ष कमजोर नहुने भयो ।’
प्रधानमन्त्री दाहालले संसदको पहिलो र दोस्रो दल मिल्नु लोकतन्त्रका लागि खतराको विषय भएको बताएपछि कांग्रेसका प्रमुख सचेतक लेखकले नेकपा (माओवादी केन्द्र)लाई बलियो दल र बलियो नेताका रुपमा दाहाललाई पाएको जवाफ दिएका छन् ।
कांग्रेस नेता लेखकले राजनीतिक स्थायित्वका लागि कांग्रेस एमाले मिलेको बताएका छन् ।
लेखकले तीन–तीन महिनामा विश्वासको मत लिनुपर्ने स्थिति अन्त्यको लागि एमालेसँग मिलेको बताए ।
उलने भने, ‘१८ महिनामा पाँचौपटक विश्वासको मत लिनु स्थिरता हो ? ४० महिनामा यसरी विश्वासको मत लिँदै जाने हो त ? तीन–साढे तीन महिनामा विश्वासको मत लिनुपर्ने जिम्मा कसले लिने ? कांग्रेस र एमालेले लिने हो ?’
‘तीन महिनामा विश्वासको मत लिन जान नपर्ने स्थिति अन्त्यको लागि कांग्रेस र एमालेको सहमति हो’, लेखकले भने, ‘यस्तो स्थितिको पुनरावृत्ति नहोस् भन्नेमा हामी सचेत छौं ।’
भ्रष्टाचार नियन्त्रण र सुशासन दिने दुई दलको अर्को सहमति रहेको उनले बताएका छन् ।
संविधान संशोधन दुई दलको मात्रै इस्यु र विषय नभएको भन्दै लेखकले समयसापेक्ष परिमार्जन गर्न खोजेको बताएका छन् ।
‘संविधान बनेको ८ वर्ष बढी भइसक्यो । यो निर्जिव विषय होइन’, लेखकले भने, ‘संविधानको समीक्षा गर्ने, यसका राम्रा पक्ष, कमजोरी, जटिलता के छन् मूल्यांकन गरेर संविधान र कानूनको परिमार्जन गर्ने भएको हो ।’
उनले भने, ‘गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गर्ने हो ।’
लेखकले भने, ‘यो दुई दलले मात्रै गने भनेको होइन । दलीय सहमतिमा नै गर्ने विषय हो ।’
कांग्रेस र एमाले मिलेर सरकार गठन गर्दा संविधान संशोधनसमेत गर्ने सहमति भएको लेखकले बताए ।
कांग्रेसका प्रमुख सचेतक लेखकले संविधानका मूल तत्वलाई कमजोर नगरिने बताएका छन् ।
लेखकले संविधान संशोधनबारे गलत भाष्य स्थापना गर्न खोजिएको पनि बताए ।
‘संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरेर संविधानको समीक्षा गर्ने, यसमा प्रारम्भ गरिसकेपछि अभ्यासमा के राम्रा पक्ष देखिएका छन् र के जटिलता देखिएका छन्, यसको मूल्यांकन गरेर आवश्यकताअनुसार संविधान र कानूनको परिमार्जन गर्न संशोधन गर्ने भनेको हो’, लेखकले भने ।
‘संविधानको संशोधन भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने उद्देश्यलाई थप सुदृढ गर्नका लागि हो’, उनले भने, ‘संविधान संशोधनको कुरा पश्चगमन होइन, अग्रगमनका लागि संविधानलाई थप उन्नत बनाउन गर्ने हो ।’
लेखकले भने, ‘संघीयता, गणतन्त्र, लोकतन्त्र कमजोर गरिने छैन । समावेशिता र विभिन्न तह र तप्काबाट प्रतिनिधित्व हुने व्यवस्थालाई कमजोर गर्ने कुनै काम गरिने छैन । यस्ता खालका गलत भाष्य निर्माण नगर्न पनि आग्रह गर्न चाहन्छौं ।’
संविधान संशोधन नै गर्न नहुने पुस्तक नभएको लेखकले बताएका छन् ।
संविधान जारी भएको ८ वर्ष पुगिसकेको र १० वर्ष पुगेपछि कतिपय व्यवस्थामा पुनर्विचार गर्नुपर्ने विषय संविधानमै उल्लेख गरिएको पनि लेखकले बताएका छन् ।
‘संविधान प्रारम्भ भएको ८ वर्षभन्दा बढी समय भइसक्यो’, लेखकले भने, ‘संविधान भनेको कुनै निर्जिव वस्तु होइन, जड दस्तावेज होइन । संविधान भनेको निरन्तर रूपले चलायमान हुने दस्तावेज हो ।’
उनले भने, ‘संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशिता यो संविधानका मुख्य तत्व हुन्, यो संविधानका स्तम्भ हुन् । त्यसलाई हामी मजबुद गर्न चाहन्छौं, थप सुदृढ गर्न चाहन्छौं, व्यवहारमा कार्यान्वयन गर्न चाहन्छौं ।’
संविधान संशोधनमार्फत राजनीतिक स्थिरताको सुनिश्चितता गर्नुपर्ने लेखकले बताएका छन् ।
संविधानको समीक्षा गरेर थप बलियो बनाउनका लागि कांग्रेस र एमाले तयार भएको बताउँदै लेखकले आगामी दिनमा अन्य राजनीतिक दलहरूलाई पनि संलग्न गराउने बताएका छन् ।
संविधान एक वा दुई दलले मात्रै संशोधन गर्न नसक्ने बताउँदै लेखकलले कांग्रेस र एमालेले पहलकदमी मात्रै लिएको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया