वर्षासँगै आएको पहिरोमा पुरिएर पोखरा र मादीमा १२ जनाको मृत्यु
पोखरा । अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर कास्की जिल्लामा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–१९ तल्लाकोट टारी बस्ने ४६ वर्षीय कुलबहादुर परियारको घर बिहीबार राति पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पहिरोमा पुरिएर कुलबहादुर, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षीमा परियार, छोरीहरू १५ वर्षीया प्रशना परियार, २० वर्षीया प्रभा परियार, ज्वाइँ २५ वर्षीय अस्मित परियार र सोही ठाउँ बस्ने ५६ वर्षीया राधिका परियार रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर घाइते भएका २ जनाको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
अविरल वर्षाको कारण पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह्रबिसे बस्ने ४० वर्षीया आरती ओझाको घर गएराति पहिरोले पुरिँदा उनकी छोरीहरू १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र उनकै दाइको छोरा ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको छ ।
पहिरोले घर पुरिँदा अनिता मृत फेला परेको तथा अनुष्का र प्रतीक बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा अनुष्का र प्रतिकको शव फेला परेको हो ।
कास्कीकै मादी गाउँपालिका–११ तल्लो ताप्ले बस्ने ८० वर्षीया माइतीकुमारी गुरूङको घर बिहीबार राति पहिरोले पुरिँदा माइतीकुमारीको मृत्यु भएको छ ।
पहिरोले घर पुरिँदा माइतीकुमारी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
उनको छोरा ५५ वर्षीय ओमबहादुर गुरूङलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया