गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भयो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आयोजित फोटो प्रदर्शनी कार्यक्रममा देउवाले गणतन्त्र स्थापनामा गिरिजाबाबुको योगदान सँधै चिरस्मरणीय रहने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र पुनःस्थापनाका साथै गणतन्त्र प्राप्त भएको बताए ।
उनले भने, ‘गिरिजाबाबु २००७ को क्रान्तिदेखि देशको राजनीतिमा क्रियाशील, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो ।’
विद्यार्थी कालमा गिरिजाबाबुकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको देउवाले बताएका छन् ।
सभापति देउवाले गणतन्त्रलाई स्थायी रूपमा अगाडि बढाउने प्रमुख जिम्मेवारी कांग्रेसको भएको बताए ।
प्रजातन्त्रबाट लडेर देशमा गणतन्त्र ल्याउन सफल भएको व्यक्तिका रुमपा गिरिजाबाबु भएको सभापति देउवाले बताएका छन् ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलगायतका नेताको उपस्थिति रहेको थियो ।
नेताहरूले अभिरुचिपूर्वक प्रदर्शनी अवलोकन गरेका छन् । गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीको कार्यक्रम राखेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया