चीनबाट बीआरआईका लागि ऋण लिने र ११ राजदूत फिर्ताबारे डा.महतले जवाफ मागेपछि प्रचण्ड के भन्छन् ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले ११ जना राजदूतहरूलाई के आधारमा फिर्ता बोलाइएको हो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्न गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्रीको तर्फबाट विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री दाहालसँग कांग्रेसका सांसद डा.महतले राजदूतहरूलाई फिर्ता बोाउनुको आधार माग गरेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले मापदण्ड र कार्यसम्पादनका आधारमा राजदूत नियुक्तिको कुरा उल्लेख गर्नुभएको छ ।’
‘११ जना राजदूतहरू एकैपटक हटाइएको छ । यी सबै ११ जना राजदूत कार्यसम्पादनमा असफल भएका हुन् ? के कारणले उहाँहरूलाई हटाइएको हो ? या यो सरकारको परराष्ट्र नीति अनुरुप उनीहरूले काम नगरेर हटाइएको हो त्यसको जवाफ चाहन्छु’, सांसद डा.महतले भने ।
‘त्यस्तै मैले सुनिरहेको छु । रास्वपाले छुट्टै राजदूत चयनको क्राइटएरिया छलफल चलाइरहेको छ’, डा.महतले भने ।
‘भनेपछि यो दलले अलग अलग क्राइटएरियामा यस्तो गर्ने हो की ? सरकारको क्राइटएरिया छ ?’, सांसद डा.महतले प्रश्न गरेका छन् ।
डा.महतले बीआरआईका विषयमा पनि प्रधानमन्त्री दाहालको जवाफ माग गरेका छन् ।
‘बीआरआई सम्बन्धमा चर्चा चलेको छ । मैले नै एमओयू त्यस बेला गरेको हो’, डा.महतले भने, ‘चीनको विदेश उपमन्त्री पनि आउनु भएको छ । ठूलो ऋण हाम्रो छ र ऋणको आकार बढ्दै छ ।’
उनले भने, ‘यो परिपेक्षमा कस्तो खालको सहयोग ? के आधारमा बीआरआईको सम्झौता कार्यान्वयन गर्दै छौँ ? यस विषयमा सरकारले केही बोलेको आज प्रधानमन्त्री नै उपस्थित भएर परराष्ट्र मन्त्रालयको सम्बन्धमा यस सम्बन्धमा सरकारको धारणा के छ ?’
प्रधानमन्त्री दाहालले राजदूत फिर्ता बोलाएको बारेमा जवाफ दिँदै भने, ‘त्यो संयोग मात्रै थियो । राजदूतको बारेमा क्याबिनेटबाट सिफारिस गर्दैमा त्यहि दिन राजदूत हट्ने भन्ने हुँदैन । १ महिना हाम्रो कानूनको व्यवस्था अन्तर्गत नै उहाँहरू रहन पाउनु हुन्छ ।’
‘यो विषय त्यस्तो नभएको भए हुन्थ्यो । प्रधानमन्त्री भारत भ्रमणमै जाने दिनमा भारतको राजदूतलाई फिर्ता बोलाउने सिफारिस नगरेको भए हुन्थ्यो भन्ने तर्क छ । त्यो तर्कलाई म मान्छु । तर, त्यो नियोजित भने बिलकुल होइन । संयोग मात्रै हो’, दाहालले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया