बुढानिलकण्ठमा देउवाको गृहकार्यले सत्ता गठन्धनभित्र बेचैन, दाहाल-ओली-नेपालबीच वार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूसँग भेटवार्ता गरेपछि सत्ता गठबन्धनभित्र हलचल आइरहेका बेला प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच वार्ता भएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दाहाल, ओली र नेपालबीच भेटवार्ता भएको हो । ओलीले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै भने, ‘समसामयिक विषयमा कुराकानी भएको हो ।’
ओलीले पत्रकारहरूसँग खुलेर प्रतिक्रिया दिन मानेनन् । छलफलपछि ओली पहिला बाहिर निस्किएका थिए । ओली निस्किएको केही समयपछि अध्यक्ष नेपाल बाहिरिएका थिए । नेपालले पत्रकारहरूसँग कुनै प्रतिक्रिया दिएनन् ।
तीन शीर्ष नेताहरूबीचको भेटवार्ताको व्यवस्था नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले मिलाइदिएका हुन् ।
दाहाल, ओली र नेपालबीच भएको यो वार्तामा विशेष गरी मधेश प्रदेश, सुदूरपश्चिम र कोशी प्रदेश सरकारहरूका विषयमा केन्द्रित रहेर छलफल भएको छ ।
एमालेले कोशी प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी)लाई समावेश गराएको छैन । विश्वासको मत दिए पनि सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एकीकृत समाजावादी) नेतृत्वको सरकारमा एमाले सहभागी भएको छैन ।
मधेश प्रदेश सरकार गठनका विषयमा पनि नेकपा (एकीकृत समाजवादी)लाई एमालेले धेरै चासो र महत्व दिएको छैन । ओलीको हेपाह प्रवृत्तिका विषयमा नेपालले खुलेरै आलोचना गर्दै आइरहेका छन् । ओली र दाहालले नेपालको पार्टीलाई फुटाएर उपेन्द्र यादवको हालतमा पु¥याइदिनेसम्मको चेतावनी दिँदै आएका छन् ।
तीन दिन अगाडि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए । देउवाको त्यो छलफलपछि पिंध नभएको कमजोर गठबन्धनको सरकारमा हलचल आएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया