ओलीले दुई वर्ष ९ महिना २० दिन अगाडि के गरेका थिए ? अहिले आएर भण्डाफोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर (नगर प्रमुख) बालेन्द्र साह ‘बालेन’ले एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश पोखेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत बालेनले भने, ‘२०७८ वैशाख ११ शनिबार अर्थात आजभन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उदघाटन भयो ।’

‘सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे’, बालेनले भनेका छन् ।

‘तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु’, बालेनले भने ।

‘उदघाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलिले भन्नू भएको थियो नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ’, मेयर बालेनले ओलीको हर्कतको भण्डाफोर गरिदिएका छन् ।

‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ’, बालेनले भने ।

‘संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ’, उनले भने, ‘निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।’

बालेनले भने, ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।’

‘अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदैछ, अझै व्यवस्थापन गर्दै लग्नेछौं । अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको छ ।’

‘हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पति प्रयोग हुन दिने छैनौं’, मेयर बालेनले भनेका छन् ।

ओली प्रधानमन्त्रीबाट बाहिरिने बेला काम पूरा नभएको धरहरा अर्थात सेतो टावरको उदघाटन गरेर शिलालेखमा आफ्नो नाम लेखाएका थिए । अहिले आएर ओलीको हर्कतको भण्डाफोर भएको छ ।

Published : Monday, 2024 February 5, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया