कांग्रेसमा सपुतहरू जन्माएकी द्रौपदाको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य स्व.गोवर्धन शर्मा पोखरेलकी धर्मपत्नी द्रौपदा शर्मा पोखरेलको १०१ वर्षको उमेरमा निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।
बुधबार कांग्रेसले शोक वक्तव्य जारी गरेर माघ ९ गते बिहान काठमाडौंको सामाखुशी रानीबारीस्थित आफ्नै निवासमा पोखरेलको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको हो ।
प्रजातन्त्र सेनानी पोखरेलको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्वर्गीय पोखरेलको परिवारजनले पुर्याएको योगदानको देउवाले स्मरण गरेका छन् ।
सभापति देउवाले द्रौपदा शर्मा पोखरेलप्रति भावपूणर् श्रद्धाञ्जलि अर्पण गरेको जनाएका छन् ।
देउवाले दिवंगत आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
विक्रम संवत् २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेकी स्वर्गीय पोखरेल आफ्ना पति गोवर्धन शर्मा पोखरेलको सर्वश्वहरणपछि वि.सं. २०१८ सालको जनक्रान्तिमा संलग्न हुँदा उनलाई गिरफ्तार गरेर पैदल हिडाई पोखरा हिरासतमा राखिएको थियो ।
नेपाली कांग्रेसको संगठन विस्तार, राणा शासन तथा पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि भएका हरेक संघर्षमा स्वर्गीय गोवर्धन शर्मा पोखरेल र उनकी धर्मपत्नीले पुर्याएको योगदान इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।
स्वर्गीय द्रौपदा शर्मा पोखरेल संविधान सभाका सदस्य रामचन्द्र पोखरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल तथा युवा नेता एवं समाजसेवी सुवासचन्द्र पाखेरेलको ममतामयी माता हुन् ।
‘स्वर्गीय पोखरेलले पार्टीका साथीहरूलाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरणा दिदै आउनुभएको थियो’, कांग्रेसले भनेको छ, ‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज महिला नेतृलाई गुमाएको छ ।’
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया