कांग्रेस मिलेर चुनावमा जाने हो भने फेरि पनि पहिलो पार्टी बन्छ : सभापति देउवा (तस्बिरहरू)
कुश्मा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुनुपर्ने बताएका छन् ।
सोमबार पर्वतको कुश्मामा नेपाली कांग्रेस पर्वतको दोस्रो सम्मेलनलाई उद्घाटन गर्दै सभापति देउवाले बलियो कांग्रेस भएमा मात्र लोकतन्त्र बलियो हुने बताए ।
उनले भने, ‘कांग्रेस आफैमा एकताबद्ध भएमा मात्र अन्य शक्तिलाई परास्त गर्न सक्छ । अपसी मतभेद घटाएर पार्टीलाई बलियो बनाउन सकेमा सबैले जित्ने वातावरण बन्छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बाध्यताको उपज भएको बताएका छन् । उनले नेपालको संविधानमा सबै क्षेत्रको प्रतिनिधित्व गर्नेखालको हुँदा एकल बहुमत कुनै पार्टीको हुन नसक्ने बताए ।
कांग्रेस मिलेर चुनावमा जाने हो भने फेरि पनि पहिलो पार्टी बन्ने सभापति देउवाले बताएका छन् ।
एक पटक टिकट नपाउँदैमा निराश हुनु नपर्ने भन्दै सभापति देउवाले अर्को पटक टिकट पाउने भएकाले पार्टीलाई जिताउन कार्यकर्तालाई आग्रह गरेका छन् ।
सभापति देउवाले देशैभरि कांग्रेसप्रतिको उत्साह र आकर्षण बढेको बताएका छन् । उनले सभा सम्मेलनमा ठूलो सहभागिताले महत्वपूर्ण सन्देश दिएको बताएका छन् ।
‘अहिले सबैमा कांग्रेस बिग्रिनेप्रतिको चिन्ता रहँदा यस कुरालाई पुष्टि गर्छ’, सभापति देउवाले भने, ‘पार्टी एक बनाएर आगामी चुनावमा जाँदा बहुमत ल्याउनेगरी तयारी थालौं ।’
केन्द्रीय सदस्य डा.शशांक कोइरालाले पार्टीलाई बलियो बनाउन सबै कार्यकर्ताको उत्तिकै जिम्मेवारी भएकाले सबै मिलेर लाग्नुपर्ने बताए ।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले अब देशलाई नयाँ ढङ्गले पुनर्ताजगी गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतले सम्बोधन गरेका थिए ।
सभापति देउवालाई पोखरा विमानस्थल र पर्वतमा कांग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । देउवा जहाजमार्फत सोमबार काठमाडौंबाट पोखरा उत्रिएका थिए । त्यसपछि उनलाई पर्वतमा गाडीबाट लगिएको थियो ।









बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया