हत्या आरोपी पञ्चा सिंहलाई पक्राउ गर्ने हिम्मत छ प्रधानमन्त्री र गृहमन्त्री ज्यू ?
वीरेन्द्रनगर । व्यक्ति हत्याको अभियोगमा नेकपा (माओवादी केन्द्र) निकटको अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहित छ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेत जिल्ला अदालतबाट अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध पक्राउ गर्ने अनुमति पाएको छ ।
१५ वर्षअघि हत्या गरिएका कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
पीडितका आफन्तले प्रहरीसमक्ष किटानी जाहेरी दिएका छन् । कालीकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी अध्यक्ष सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतबाट २०७९ साउन १३ गते पक्राउका लागि अनुमति लिएको थियो । किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध पक्राउ पूर्जी माग गरेको सुर्खेतका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) योगेन्द्रसिंह थापाले बताएका छन् ।
सुर्खेतको जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका आठ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो ।
हत्या लगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरुको जाहेरी दिएका थिए । जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन् । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण र बालुवाटार जग्गा काण्डलगायतमा विभिन्न व्यक्तिलाई पक्राउ गरेर थुनामा राखेका गृहमन्त्री श्रेष्ठ र प्रधानमन्त्री दाहालले आफ्नै पार्टीकी नेतृ समेत रहेकी अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जना कार्यकर्तालाई पक्राउ गरेर कारबाही गराउँछन् वा गराउँदैनन् हेर्न बाँकी छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया