बैंकबाट कर्जा बढ्या, मूल्यवृद्धि साढे ५ प्रतिशतमा झर्‍यो : अर्थमन्त्री डा.महत

सौराह । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् ।

१७औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटनलाई सम्बोधन गर्दै डा.महतले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ ।’

‘राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ’, अर्थमन्त्री डा.महतले भनेका छन् ।

उनले अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकेदारले दाबी गर्ने परम्पराको अन्त्य हुने बताएका छन् ।

डा.महतले भने, ‘जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ ।’

उनले भने, ‘यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’

अर्थमन्त्री डा.महतले भने, ‘अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर हामीले निरन्तर पहल गर्‍यौं ।’

‘अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउँछ, ब्याजदर घटाउँछ, लगानी वृद्धि गर्छ’, डा.महतले भनेका छन् ।

उनले अहिले आर्थिक सूचकहरु विस्तारै सकारात्मक हुँदै आएको बताएका छन् ।

अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको बताउँदै अर्थमन्त्री डा.महतले भने, ‘आन्तरिक पर्यटक पनि बढेको छ । यसले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुनेछ ।’

‘शेयर बजार उकालो लागेको छ । जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ’, उनले भने, ‘विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ ।’

उनले ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरूलाई पनि राहत पुग्ने बताएका छन् ।

अर्थमन्त्री डा.महतले बैंकबाट कर्जा बढेको र मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेकाले व्यापारको लागत कम हुने बताए ।

Published : Wednesday, 2023 December 27, 12:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया