देशभरि कति छ कांग्रेसको रिक्त पदहरू ? सभापति देउवाद्वारा विवरण माग
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश र जिल्ला कार्यसमितिले विभिन्न तहमा भएको रिक्त पदको विवरण केन्द्रीय कार्यालयमा पठाएका छन् ।
कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ–नगरपालिका र वडा तहका कार्यसमितिमा निर्वाचन र मनोनयन गर्न बाँकी पदको विवरण मागेको थियो ।
प्रदेशले पठाएको विवरणमा जिल्ला सभापति, उप–सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पालिका र वडाका पदाधिकारी समेत गरि ८६ जना महाधिवेशन प्रतिनिधिको पद रिक्त छ ।
संखुवासभामा नेपाली कांग्रेसको जिल्ला सभापतिको पद रिक्त छ । १४ औँ महाधिवेशनताका निर्वाचित दीपक खड्काले राजीनामा दिएपछि संखुवासभामा सभापति पद रिक्त छ ।
नेपाली कांग्रेस मादी नगर सभापतिको पद पनि रिक्त छ । नगर सभापति यादव खड्काले पार्टी परित्याग गरेका छन् ।
उदयपुरमा कांग्रेसमा विभिन्न तहमा १६ पद रिक्त रहेको अवस्था छ । उदयपुरको क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामकुमार राई २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवार बनेपछि निस्कासित भएका थिए ।
उदयपुरको क्षेत्र नम्बर २ प्रदेश (२) मा सभापति र उप–सभापति पद रिक्त छ । प्रदेश (२)का सभापति कृष्ण थापा कटहरी नगर प्रमुखमा बागी र उप–सभापति माधव रास्कोटी उप–प्रमुखको बागी उम्मेदवार बनेका थिए ।
बागी उम्मेदवार बनेका महाधिवेशन प्रतिनिधि रमिला राई र मनकुमारी भुजेल पनि पार्टीबाट निष्कासित हुँदा पद रिक्त छ ।
दुई जना प्रदेश महाधिवेशन प्रतिनिधि, उदयपुरगढी गाउँपालिका उप–सभापति, सचिव, चौदण्डीगढी नगर उप–सभापति, चार वटा वडा सभापतिको पद रिक्त छ ।
कांग्रेस सुनसरीमा ६ जना जिल्ला कार्यसमिति सदस्यको पद रिक्त छ । जिल्ला कार्यसमिति सदस्य किशोरकुमार पाल, सहजादी प्रवीण आलम, सत्यनारायण मण्डल खत्वेले कांग्रेस छाडेका छन् । धनकुमारी चौधरी र सतेन्द्रप्रसाद मेहता जिल्ला सदस्यबाट राजीनामा दिएर शिक्षक सेवामा फर्किएका छन् । मोहनकुमार श्रेष्ठले स्वेच्छाले पार्टी छाडेका छन् ।
बाँके कांग्रेसमा पनि विभिन्न तहका अधिकांश पद रिक्त छन् । दर्जनौँ क्षेत्रीय प्रतिनिधि, नगरसभापति, उप–सभापति, सचिव, विभिन्न वडामा सभापति, सचिव, सदस्यको पद रिक्त रहेका छन् ।
रुपन्देही कांग्रेसले दुई नम्बरका क्षेत्रीय सभापति हरिप्रसाद लम्साल, क्षेत्रीय सह–सचिव राजबहादुर क्षेत्री, देवदह नगरपालिका– ६ का सभापति रुकात्मक भारती र पदाधिकारीको पद रिक्त रहेको जनाएको छ । केहीले राजीनामा दिएको, केही अन्य पार्टीमा सक्रिय भएको, केही बागी उम्मेदवार हुँदा पद रिक्त हुन पुगेको रुपन्देही सचिव हरिप्रसाद काफ्लेले बताएका छन् ।
दार्चुला कांग्रेसमा जिल्ला उप–सभापति, जिल्ला कार्यसमिति सदस्य र प्रदेशसभा (२) सचिवको पद रिक्त छ । जिल्ला उप–सभापति माओवादी केन्द्र प्रवेश गरेका छन् । सदस्यको मृत्यु भएको छ । प्रदेश (२)का सचिव वैदेशिक रोजगारीमा गएका छन् ।
गोरखा कांग्रेस गोरखामा विभिन्न तहका ८ पद रिक्त छन् । शहीदलखन गाउँपालिकाका सचिव बासु रेग्मी र गण्डकी गाउँपालिका ७ का सभापति ठाकुर थापा मगर विदेश गएका छन् ।
गण्डकी गाउँपालिका ६ का सभापति माओवादी प्रवेश गरेका छन् । भीमसेनथापा नगरपालिका–६ का उप–सभापति रास्वपा प्रवेश गरेका छन् ।
शहीदलखन गाउँपालिका– ९ का सचिव बागी उम्मेदवार, भीमसेनथापा नगरपालिका–१, ५ र ६ का वडा सभापतिले राजीनामा दिएपछि पद रिक्त छ ।
मंसिर समान्तसम्म रिक्त पदको विवरण बुझाउन निर्देशन दिए पनि अहिलेसम्म करिब ५० जिल्लाबाट विवरण आइपुगेको छ ।
पुस १२ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा रिक्त पदबारे निर्णय गर्ने कांग्रेसको तयारी छ । सभापति शेरबहादुर देउवाले देशभरिबाट रिक्त पदहरूको विवरण माग गर्न केन्द्रीय कार्यालयलाई निर्देशन दिएका छन् । पदाधिकारी र कर्मचारीहरूले देशभरिबाट विवरण माग गरेका छन् । केही जिल्लाबाट विवरण आउनु बाँकी छ ।
केन्द्रीय कार्यसमितिसहित आठ तहमा संगठन संरचना छ । हरेक तहका कार्यसमितिका सभापतिलाई २० प्रतिशत सदस्य मनोनयनको अधिकार छ । पदाधिकारीमध्ये कोषाध्यक्ष कार्यसमिति बैठकबाट मनोनीत गर्ने व्यवस्था छ ।
केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ । केही केन्द्रीय सदस्य पद पनि रिक्त छ । विभागले पनि पूर्णता पाउन बाँकी छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया