गण्डकी कांग्रेसलाई सभापति देउवा व्यक्तिगत मन नपर्न सक्छ, पूर्वाग्राही भएर तस्बिर नै नराख्ने ?

पोखरा । नेपाली कांग्रेस गण्डकीले पार्टी सभापति शेरबहादुर देउवाप्रति लापरवाही र हेलचेक्र्याइ गरेको छ ।

मंगलबार पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको सभापति देउवाले उद्घाटन गरेका छन् । कार्यक्रममा केन्द्रीय पदाधिकारी र नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

पोखरा सभा गृहभित्र भएको उद्घाटन कार्यक्रममा सभापति देउवाको कुनै पनि तस्बिर राखिएको छैन । सभापति देउवाको तस्बिर कार्यक्रम हलभन्दा बाहिर भने राखिएको छ ।

गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्माले पार्टीको आन्तरिक कार्यक्रममा केन्द्रीय सभापति (शेरबहादुर देउवा)को तस्बिर राख्ने परम्परा नरहेकाले तस्बिर नराखिएको बताए । उनले भने, ‘सबैको नेता कार्यकर्ताको नेता वीपी कोइराला हो । वीपीको तस्बिर राखिएपछि अरु नेताको तस्बिर राख्न आवशयक छैन ।’

कांग्रेसको सभापति देउवा हुन् । देउवाको नेतृत्वमा कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी बनेको छ । देउवाले १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार नबन्ने १४औँ महाधिवेशनका बेला बोलेका थिए । सोही अभिव्यक्तिलाई ध्यान दिएर कतै अपमान गर्न खोजिएको त होइन ? त्यसो हो भने केही नेताहरूले गल्ती गर्दै छन् । कांग्रेसको अभिभावक अहिले सभापति देउवा नै हुन् । देउवालाई कमजोर खेलाडी नसम्झिए पनि हुन्छ । धेरै उतार चढाव बाँकी छन् ।

देउवालाई व्यक्तिगत रुपमा मन नपर्न सक्छ । तर, कांग्रेसको सभापतिको तस्बिर कांग्रेसकै कार्यक्रममा नराखिँदा पूर्वाग्रही भएको भनेर आलोचना भएका छन् । गण्डकी कांग्रेसले सभापति देउवाप्रति निकै लापरबाही, हेलचेक्र्याइ र अपमान गरेको छ ।

गण्डकी कांग्रेसको कार्यसमिति र सभापति शर्माले पार्टी अनुशासनहीन कार्य गरेका छन् । उनीहरूले यो विषयमा लिखित रुपमा माफी माग्नुपर्छ । होइन भने केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोध्ने हिम्मत राख्नुपर्छ । यो कुरा सभापति देउवाको व्यक्तिगत होइन । कांग्रेसप्रति आस्था राख्ने सबैलाई आइपर्ने कुरा हो ।

गण्डकी कांग्रेसका सभापति शर्मा नेता शेखर कोइराला समूह निकटका हुन् । गण्डकी कांग्रेसमा संस्थापन समूह अल्पमतमा छ । कार्यसमितिमा रहेको संस्थापन समूहका नेताहरूले कम्तीमा पनि केन्द्रीय सभापतिलाई अपमान गरेको कुरा टुलुटुलु हेरेर बस्नु हुँदैन थियो ।

सभापति देउवाले आफ्नो तस्बिर कार्यक्रममा नराखिएको विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । देउवा यस्ता कुरामा खासै महत्व दिने व्यक्ति पनि होइनन् । तर, सभापतिको तस्बिर कांग्रेसको कार्यक्रममा नराख्नु भनेको गण्डकी कांग्रेसको पूर्वाग्रही निर्णय भनेर आलोचना भएका छन् ।

केन्द्रीय सदस्य ध्रुब वाग्लेले सभापति देउवाको तस्बिर कार्यक्रममा नराखिएको हो गण्डकी कांग्रेस र सभापति शुक्रराज शर्मालाई जानकारी होला भनेर आक्रोश पोखेका छन् । उनले आफू केन्द्रीय सदस्य रहेको भन्दै कार्यक्रममा गण्डकी कांग्रेसका सभापति शर्माले पूर्वाग्रही भएर बोल्न समय नदिएको बताए ।

केन्द्रीय सदस्य शंकर भण्डारीले केन्द्रीय सभापति शेरबहादुर देउवाको तस्बिर कांग्रेसको आन्तरिक कार्यक्रममा राखिनुपर्ने बताए । उनले यो विषयमा गण्डकी कांग्रेसले समीक्षा गरेर उचित जवाफ दिनुपर्ने बताएका छन् ।

Published : Tuesday, 2023 December 19, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया