ओलीजी किड्नीको उपचार गर्ने ५ हजार लिन आउनुपर्दैन, घरमै ल्याइदिन्छौँ : खतिवडा
धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीभित्र साथीहरूका बीच तिक्तता हुन सक्नेभन्दै त्यसलाई बिर्सिएर मिलेर चुनावमा जानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस धनकुटाले धनकुटामा आयोजना कार्यक्रमलाई नेता खतिवडाले पार्टीभित्रको तिक्ततालाई बिर्सिएर चुनावमा मिलेर जानुपर्ने बताएका हुन् । उनले भने, ‘कांग्रेस मिल्यौँ भने कांग्रेसलाई हराउने ताकत कसैसँग पनि छैन ।’
नेता खतिवडाले केपी ओलीले मदन भण्डारीका सन्तानले दुःख पाउँछन् कि भनेर हेर्नका लागि सरकारी पैसा चार अर्ब खर्च गरेर टावर बनाएको आरोप लगाए ।
‘टावरका कुरा आएका छन् । मैले त सुनेको थिएँ । मदन भण्डारी सपनामा आएर भन्नुभयो रे– मेरा सन्तानहरू अलिक अफ्ठ्यारोमा परे भने तपाईले राम्रोसँग हेरिदिनु है ओलीजी भन्नुभएको थियो रे ।’
‘मदन भण्डारीजी आज हुनुहुन्न । सायद झापामा ४ अर्बको टावर बनाएको त्यो टावरबाट मदन भण्डारीका सन्तान हेर्नको लागि टावर बनाएको होला’, उनले भने, ‘नत्र अस्पताल बनाएको भए जनताको सेवा हुने थियो । अस्पताल बनाएको भए कति जनताले उपचार गराउने पाउँथे होला ।’
कम्युनिस्टले कांग्रेसले गरेको विकासलाई मैले गरेको हुँ भनेर रिबन काटेर उद्घाटन गर्ने गरेको पनि उनले बताए ।
‘धनकुटामा सूर्यबहादुर थापाले बनाएको सडकलाई हामीले बनाएको हो भनेर कम्युनिस्टले कैँची र रिबन बोकेर उद्घाटन गर्न बेर लगाउँदैनन्’, उनले भनेका छन् ।
नेता खतिवडाले एमालेलाई कांग्रेससँग धेरै निहुँ नखोज्न सुझाव दिएका छन् ।

‘जुनदिन कांग्रेससँग राजाले निहुँ खोजे, हाम्रै हातबाट राजा सकिनु पर्यो’, उनले भने, ‘१२ वर्ष सशस्त्र द्वन्द्वमा गएको माओवादी हाम्रै हातबाट शान्ति प्रक्रियामा आउनु पर्यो ।’
उनले एमालेलाई बिचौलिया र झुठको पार्टी रहेको बताएका छन् । ‘एमाले पार्टी बिचौलियाका रुपमा परिचालन भएको छ’, उनले भने, ‘कांग्रेस आउँदा कांग्रेससँग ठीक, माओवादी आउँदा माओवादीसँग ठीक ।’
‘कुनै पनि परिवर्तन र आन्दोलनको नेतृत्वको एमाले भन्ने पार्टीले कहिल्यै गरेन । सबैभन्दा धेरै अवसर कुनै पार्टीले लिएको छ भने त्यही पार्टीले लिएको छ’, उनले भने, ‘झुठा कुरा गर्न र मीठा कुरा गर्न एमालेका नेता र कार्यकर्ताभन्दा सिपालु कोही पनि छैन ।’
उनले भनेका छन्, ‘सत्यतथ्य कुरा जनतामा बुझायौँ भने कांग्रेस अहिले पनि कमजोर छैन । कांग्रेस हारेको छ भने कांग्रेसभित्रकै कारण तथा मेललिपा र एकता गर्न नसकेका कारणले हामी हारेका छौँ ।’
उनले भने, ‘अहिलेको निर्वाचन जीवनमरणको रुपमा लिएका छौँ । अहिलेको कांग्रेस जित्नुपर्छ । कांग्रेसका उम्मेदवारले जित्नुपर्छ । परिश्रम गरेको नेतालाई टिकट दिएर जिताउने हो ।’
ओलीले तत्कालीन समयमा देउवा सरकारले दीर्घरोगी, मिर्गौला, क्यान्सरपीडितलाई ५ हजार दिने भनेर गरेको निर्णयलाई काटेको बताएका खतिवडाले देउवाफेरि प्रधानमन्त्री हुनेवित्तिकै ५ हजार दीर्घरोगीका बिरामीलाई दिने निर्णय गरेको बताए ।
ओलीले देउवालाई भनेको कुरा स्मरण गर्दै खतिवडाले भने, ‘ओलीले शेरबहादुर देउवाजी ६०/७० वर्ष पुगेपछि एमालेको वृद्धभत्ता लिन तपाई आउनु हुन्छ होला नि भनेर केपी ओलीजीले भन्नुभयो । ओलीले गोजीबाट दिए जस्तो ।’
‘हामीले त्यस्तो नभनेर ओलीलाई किड्नीपीडित पूर्वप्रधानमन्त्री भएकोले तपाईलाई दिने ५ हजार रुपियाँ शेरबहादुर देउवाले घर–घरमा पुर्याइदिन्छन् । केपी ओलीकामा पनि घरमा पुर्याइदिन्छौँ भन्ने थियो । लिन आउनुपर्दैन ओलीजी तपाईलाई घरमा ५ हजार पठाइदिन्छौँ ।’

एमालेका अध्यक्ष ओलीसँग नेपालमा सबैभन्दा धेरै पैसा भएको धनी व्यक्ति रहेको कांग्रेस नेता खतिवडाले बताएका छन् ।
‘ओलीले हलेसी महादेवलाई ४ लाख भेटी पठाउनुभएछ । हामी भेटीमा ५/१० रुपियाँ दिन्थ्यौँ होला । कसका बाउको सम्पत्ति जाने ? लुटेको सम्पत्ति छ’, उनले भने, ‘आज देशमा सबैभन्दा धनी मान्छे कोही छभने अर्बौं पैसा नेपालमा केपी ओलीसँग छ । भेटीमा चार लाख रुपियाँ पठाउने मान्छेले मतदाता कसरी किन्छन् होला ?’
उनले एमालेले जहिले पनि नाता र दातालाई मात्रै अवसर दिने गरेको बताए ।
‘पद पाउँदा कम्युनिस्टले आफ्ना नाता र दाताभन्दा बाहेक कसैलाई दिँदैनन्’, उनले भने, ‘त्यसको अन्त्यका लागि पनि धनकुटा कांग्रेसले जित्नुपर्छ ।’
कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, धनकुटा कांग्रेसका सभापति दिनेश राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया