सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।
न्यायाधीशमा सिफारिश चारै जनाको संसदीय सुनुवाइको प्रक्रिया अगाडि बढेको छ । संसदीय सुनुवाइ समितिले सोमबार सूचना प्रकाशित गरेर १० दिनभित्र कुनै सूचना वा उजुरी भए दिन भनेको हो ।
गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
पाण्डे उच्च अदालत, पाटनको हेटौंडा इजलासका न्यायाधीश हुन् । सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् । डाँगी यसअघि उच्च अदालत, जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश थिए ।
सोझै समितिको सचिवालय पुगेर वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत पनि सूचना वा उजुरी दिन सकिन्छ ।
स्पष्ट आधार एवं सबुत प्रमाणसहित शिष्ट र मर्यादित भाषामा सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन भनिएको छ ।
सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने हुन्छ । उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिनेछ ।
उजुरी प्राप्त भएपछि सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि प्रस्तावित न्यायाधीशरूको सुनुवाइ हुनेछ ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशमा नियुक्ति हुनेछन् ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया