प्रधानमन्त्रीद्वारा नुवाकोटको माग सम्बोधन गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतको नेतृत्वको नुवाकोटको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र प्रस्तुत गरेको छ ।

प्रतिनिधि मण्डलले नुवाकोट जिल्लाको जल्दाबल्दा समस्याहरु तुरुन्त समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्रीसंगको भेटमा प्रतिनिधि मण्डलका तर्फबाट डा.महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभइ अलपत्र परेकोले जनजीवन कष्टकर भएको विषयलाई राखेका थिए ।

डा.महतले सो बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै संबन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको बताए ।

ज्ञापन पत्रमा नुवाकोटको बञ्चरेडाँडाको डम्पिङ साउटको व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ ।

स्थानीय बासिन्दाहरूले फोहररहित मानववस्ती, मानववस्तीरहित फोहर मैला व्यवस्थापन क्षेत्रको अवधारणा अनुरुप फोहर मैला व्यवस्थापन गर्न माग गर्दै आएका छन् ।

डा.महत ककनीमा नेपाली कांग्रेसले आयोजना गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गतको प्रशिक्षणमा सहभागी भएर फर्कदा स्थानीयले फोहरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्री समक्ष पु¥यादिन अनुरोध गरेका थिए ।

ज्ञापन पत्रमा नुवाकोटका विभन्न दुर्गम गाँउपालिकाहरूमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ ।

प्रधानमन्त्री देउवाले ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरू तत्काल पूरा गर्नका लागि सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रवक्ता डा.महतका साथै कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा, जिल्ला सभापति रमेश महत, सरोकार समितिका अध्यक्ष आदित्य श्रेष्ठ, जिल्ला भूमि आयोग नुवाकोटका अध्यक्ष अर्जुन न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 March 29, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया