बागमती कांग्रेसले चुनावी गठबन्धन गर्न दियो सुझाव, तलैसम्म संयन्त्र बनाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले अहिलेको आवस्यक्ता, औचित्यताका कारण विश्वास गरेर गठबन्धनमा जानुपर्ने निर्णय गरेको छ ।

ललितपुरको खुमलटारमा मंगलबार बसेको बागमती प्रदेशको कार्यसमिति, संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठकले गठबन्धन गरेर जान कांग्रेसको केन्द्रीय कार्यसमितिलाई सुझाव दिने निर्णय गरेको सभापति ईन्द्रबहादुर बानियाँले जानकारी दिए ।

‘कांग्रेसको नेतृत्वमा गठबन्धनले जुन परिस्थितिमा सरकार निर्माण भयो, त्यो अवस्था निर्माण हुँदै एमसीसीसम्म आउँदै गर्दा अविश्वासको बीचमा विश्वास पैदा भएर जसरी आयो, यो विश्वासलाई अझै थप मजबुद बनाउँदै अहिलेको गठबन्धनलाई अझै मजबुद बनाउनको लागि केन्द्रमा गठबन्धन गरेर जाने मनसाय रहेको कुरा बागमती प्रदेशको बैठकमा जानकारी गराएको छु’, उनले भनेका छन् ।

‘अहिलेको परिस्थितिमा नेपाली कांग्रेसले अफ्ठ्यारो अवस्थामा सरकार निर्माण भएको छ’, सभापति बानियाँले भने, ‘विश्वास र अविश्वासका बीचमा एमसीसी पारित गरेर जुन विश्वास जगाएको छ, त्यो विश्वासलाई निरन्तरता दिने र थप विश्वास पैदा गराउने काम हाम्रो हो भन्ने कुरा आजको बैठकले ठहर गरेको छ ।’

उनले भने, ‘कांग्रेस नेतृत्वको गठबन्धनले थप विश्वास बनाउँदै निर्वाचन तालमेलको वातावरणमा बढ्नको लागि केन्द्रलाई सुझाव दिने निर्णय गरेको छ ।’

‘सर्वसम्मत निर्णय भएको छ’, उनले भने, ‘गठबन्धनमा तालमेल गरेर स्थानीय निर्वाचनलाई परिणामुखी बनाउँदै तीन तहको निर्वाचनमा तालमेल भएर जानुपर्छ सुझाव दिने निर्णय भएको छ ।’

उनले भने, ‘कांग्रेसको विधानले विभिन्न निकायले टिकट दिने व्यवस्था गरेको छ ।’

‘गठबन्धनका दलहरूलाई सहकार्य गर्ने व्यवस्था मिलाउने, निर्वाचनलाई परिणामुखी बनाउन र कमीकमजोरी हुन नदिन, संयन्त्र बनाउनुपर्छ भन्ने सुझाव दिने निर्णय पनि भएको छ’, सभापति बानियाँले बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका बेला बागमती प्रदेश कांग्रेसले गठबन्धनको औचित्य रहेको भन्दै तीन तहको निर्वाचनमा आवश्यक्ता र औचित्यताका आधारमा गठबन्धन गरेर जानुपर्ने निर्णय गरेको छ ।

साथै बैठकले चुनावी तालमेलका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बनाउन पनि सुझाव दिएको छ ।

Published : Tuesday, 2022 March 29, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया