कांग्रेसमा नेताको चाकडी गर्नेले टिकट पाउँदैन, गफाडी पार्टी एमाले हो : खतिवडा

लिखु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले गुटका आधार वा नेताको चाकडी गरेका भरमा कसैले पनि टिकट नपाउने बताएका छन् ।

ओखलढुंगाको लिखु गाउँपालिकामा नेपाली कांग्रेसले सोमबार आयोजना गरेको ‘गाउँ–गाउँ जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सम्बोधन गर्दै खतिवडाले परिश्रमी र जनप्रिय नेताले टिकट पाउने बताए ।

‘यस पटक गुटका आधारमा कसैलाई टिकट दिने वा नदिने निर्णय हुनेछैन । हामी जो परिश्रमी छ त्यसलाई साथमा लिन्छौँ’, खतिवडाले भने, ‘जो नेताको वरिपरी परिक्रमा गरेर गफमात्रै गर्छ, कानमात्रै फुक्छ, जनताको बीचमा जाँदैन त्यसलाई कांग्रेसले साथ दिँदैन ।’

उनले भने, ‘यस पटक त्यो कांग्रेसले न्याय पाउँछ, जो जनप्रिय छ, धनप्रिय होइन, जनप्रिय मान्छेले टिकट पाउँछ ।’

‘मैले कसैको आलोचना गर्नु छैन’, उनले भने, ‘म कसैलाई गाली गर्न पनि आएको होइन ।’

‘सबैभन्दा पीडा कांग्रेसलाई त्यो दिन हुने रहेछ’, खतिवडाले भने, ‘अर्काले पिट्दा धेरै पीडा नहुँदो रहेछ । आफ्नैले पिट्दा धेरै पीडा हुँदो रहेछ । त्यस्तो अवस्था नआइदेओस् ।’

नेता खतिवडाले निर्वाचनका बेला अन्तरघात गरेर पार्टीका उम्मेदवारलाई हराउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।

‘तपाईहरू एकता कायम गर्नुहोस् । एक हुनु होस् । कमसेकम बेलुका नेताको कुरा नकाट्नुस्, बिहान चिया खाने बेला नेताको आलोचना नगर्नुस्’, उनले भनेका छन्, ‘जुन पार्टीले बहुदल ल्यायो, लोकतन्त्र ल्यायो, माओवादीलाई शान्तिप्रक्रियामा ल्यायो, एमालेलाई बहुदलवादी बनायो, संविधान सभाको चुनाव गरायो, संविधान बनायो, स्थानीय तहको चुनाव गरायो, त्यो कांग्रेस पार्टी भएको नाताले भन्न सक्नुपर्छ, हाम्रो छाती ठूलो छ, अरु सबै कुरौटे र भरौटे हुन् ।’

उनले भने, ‘हामी काम गर्ने हौँ भनेर बिहानदेखि बेलुकासम्म कुरा गर्नुस्, कांग्रेस कहिल्यै पनि हार्दैन ।’

‘कुरा गरेर खाने पार्टीको नाम एमाले हो । काम गर्दैन । कुरामात्रै गर्छ’, कांग्रेस नेता खतिवडाले भने, ‘गाउँका साना केटादेखि माथिको केपी ओलीसम्म कुरा गरेर खाने पार्टी एमाले ।’

उनले भने, ‘पाँच हजार बनाएर भत्ता घर–घरमा ल्याइदिन्छु भनेर केपी ओलीले भने तर, वृद्धभत्ता कांग्रेसले बढाइदिनु परेको छ भत्ता । भाषण ओली गर्ने, वृद्धभत्ता कांग्रेसले बढाउने ।’

‘झलनाथ खनाल र माधव नेपालले ओलीलाई गफाडी भनेर छाडेर अर्को पार्टी बनाए’, खतिवडाले भने, ‘एमाले बुझ्ने पार्टीका सबै नेता भाग्ने, अनि गाउँका ठुटे नेताहरू कराएर कम्युनिस्टको उद्धार होला ? हुँदैन । त्यही कुरा जनतालाई भन्ने आएको हुँ ।’

उनले भने, ‘बाटो र पुलको योजना कांग्रेसले हालेर बनाउने, नेकपा (एमाले)का कुरौटे साथीहरू कैची गोजीमा हालेर हिँड्छन् । गोजीमा बोकेको रिबन टाँसेर आफैले उद्घाटन गर्छन् ।’

‘बिजुली, खानेपानी भएन भन्नु हुन्छ । भोट अन्त हाल्नु हुन्छ’, उनले भने, ‘अनि एकदिन बेलुका एमाले नाँची दिन्छ । आमादिदी बहिनी हो । कति बस्छौं रोएर । भरे नेताहरू बलत्कारमा जेल जान्छन् । त्यही पार्टीलाई भोट हाल्नु हुन्छ । कहाँबाट विकास हुन्छ । त्यही कुरा अनुरोध गर्नु आएको हुँ ।’

नेता खतिवडाले भने, ‘तेजेन्द्र खनाल मेरो र तपाई हामी सबैको सभापति हो । कांग्रेसको आधिकारिक नेता उहाँनै हो ।’

‘सभापतिमा जितेका तेजेन्द्र खनाल र सभातिमा हारेका बालकृष्ण दाहाल कांग्रेस जिताउन हिँड्नुभएको छ । आन्तरिक लोकतन्त्रमा प्रतिस्पर्धा गर्छौं’, उनले भने, ‘कांग्रेस जिताउन तेजेन्द्र खनाल र बालकृष्ण दाहाल जस्तै मिलेर सँगै हिँड्छौँ ।’

कार्यक्रममा सभापति तेजेन्द्र खनाल, जितेन्द्र ठकुरी, कुमार लुइँटेल, बालकृष्ण दाहाल, अशोककुमार कार्की, उज्जन बुढाथोकी, रुद्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 March 29, 12:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया