कांग्रेस पराजयबारे दिग्गज नेताहरूले सुनाए नयाँ विश्लेषण, केन्द्रीय सदस्यहरू कन्भिन्स

काठमाडौं । नेपाली कांग्रेसका दुई शीर्ष नेता गोपालमान श्रेष्ठ र विजय गच्छदारले तीन चरणका निर्वाचनमा पार्टी पराजयका विषयमा झण्डै पाँच घण्टा धारणा राखेका छन् ।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै नेताद्वय श्रेष्ठ र गच्छदारले तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिका कारण कांग्रेसलाई धक्का लागेको बताएका हुन् ।

निधिले एमाले निकट नवराज सिलवाललाई महानिरीक्षक बनाउन प्रस्ताव गरेका थिए भने सभपाति शेरबहादुर देउवाले कांग्रेस निकटका जयबहादुर चन्दलाई महानिरीक्षकमा प्रस्ताव गरेका थिए ।

निधिले सभापति देउवाको आदेशलाई अस्वीकार गरेपछि ठूलो लफडा भएको थियो । त्यसको मूल्य कांग्रेसले निर्वाचनका बेला व्यहोर्नु परेको थियो ।

कांग्रेसका नेता श्रेष्ठले तत्कालीन गृहमन्त्री निधि र सभापति देउवाबीच प्रहरी महानिरीक्षक नियुक्तिमा विवाद हुँदा पार्टीलाई नोक्सानी भएको बताए ।

‘तत्कालीन गृहमन्त्री निधिजी र सभापतिबीच आईजीपी नियुक्तिमा विवाद भयो । त्यो विवादलाई कम्युनिस्टहरूले कांग्रेसको बद्नामी गर्न प्रचार गरे’, नेता श्रेष्ठको भनाइ उदृत गर्दै कांग्रेस उच्च स्रोतले भन्यो, ‘सभापतिको निर्देशनलाई त्यस बेलाका गृहमन्त्री विमलेन्द्रजीले बेवास्ता गरेका कारण कांग्रेसलाई निर्वाचनमा ठूलो नोक्सानी भयो । विमलेन्द्रजीले यसको जिम्मेवारी लिनुपर्छ ।’

निर्वाचनका बेला कांग्रेसभित्रको आन्तरिक विवादले पनि पार्टीका उम्मेदवारहरूलाई समस्या भएको उनको भनाइ थियो ।

कांग्रेसको पदाधिकारी नियुक्ति गर्दा सभापतिले आफूलाई उपसभापतिमा मनोनीत गर्नुपर्ने नेता श्रेष्ठको धारणा थियो । ‘मैले कांग्रेसलाई ठूलो योगदान दिएको छु । सभापतिजीलाई पार्टी चलाउन पनि सहयोग गर्दै आएको छु । कार्यबाहक सभापति भएर पनि पार्टी चलाएको छु’, श्रेष्ठले भने, ‘मलाई उपसभपातिमा मनोनीत गर्नुपर्छ ।’

अर्का नेता गच्छदारले कांग्रेसले मधेसलाई हेर्ने दृष्टीकोण के हो भन्नेबारेमा स्पष्ट भन्न नसक्दा आफूले अलग पार्टी बनाउनु परेको बताए ।

लग पार्टी खोल्दा पनि सधै आफू कांग्रेसको शुभेच्छा गर्ने गरेको बताएका उनले भने, ‘कांग्रेसलाई हानी पुर्‍याउनेमा गिरिजाप्रसाद कोइराला पनि हुनुहुन्छ । उहाँले गलत निर्णय गर्दा कांग्रेसले क्षति व्यहोर्नु परेको छ । मध्यावधी चुनावमा जाँदा कांग्रेसलाई नोक्सानी भयो । त्यसको मूल्य अहिले पनि चुकाउनु परेको छ ।’

तराई क्षेत्र कांग्रेसको भोट बैंक रहेको बताएका नेता गच्छदारले तराई मधेसका लागि विशेष कार्यक्रम लिएर जानुपर्ने उल्लेख गरेका छन् ।

सम्भवत शुक्रबार सम्पन्न हुने तयारीमा रहेको कांग्रेसको बैठकले गच्छदार समूहबाट आएका नेताहरूलाई केन्द्रीय कार्यसमिति सदस्यमा नियुक्ति गर्नुका साथै निर्वाचनमा भएको पराजयका बारेमा निर्णय हुन सक्ने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘विधान संशोधनका लागि मस्यौदा समिति बन्न सक्छ’, उनले भने, ‘सभापतिज्यूले के–के प्रस्ताव ल्याउनु हुन्छ हेर्न बाँकी छ । केही भनिएको छैन ।’

Published : Thursday, 2018 April 26, 9:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया