रुपन्देही कांग्रेस निर्वाचनको तयारीमा केन्द्रित

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले आफूलाई स्थानीय तहको निर्वाचनमा केन्द्रित बनाएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकको आतिथ्यतामा पार्टी कार्यालय भैरहवामा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले रुपन्देहीका सबै वडामा पार्टीको कार्यालय स्थापना गर्ने तथा टोल समिति गठन गर्ने निर्णय गरेको छ ।

फागुन मसान्तभित्र जिल्लाका १ सय ५५ वटै वडामा पार्टीका वडा कार्यालय स्थापना गर्ने र सबै टोलमा पार्टीको टोल समिति गठन गर्ने निर्णय भएको रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाणले जानकारी दिएका छन् ।

पार्टीका गतिविधि अनुगमन गर्नका लागि उप–सभापति अनिता शाहको संयोजकत्वमा अध्यन समितिसमेत गठन गरिएको छ ।

समितिमा प्राध्यापक, शिक्षक, वकिल तथा पत्रकारसमेत रहनेछन् । समितिले स्थानीय तहका लागि आकांक्षी र लोकप्रिय उम्मेदवारहरूको बारेमा समेत अध्ययन गर्नेछ ।

केन्द्र सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै रुपन्देही कांग्रेस तयारीमा जुटेको छ ।

Published : Monday, 2022 February 14, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया