कम्युनिस्टलाई जनतामा जाने अधिकार छैन : खतिवडा, एमाले–माओवादीका कार्यकर्ता कांग्रेसमा प्रवेश
लिखु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेसहितका कम्युनिस्टलाई जनतामा जाने अधिकार नरहेको टिप्पणी गरेका छन् ।
मंगलबार ओखलढुंगाको लिखुमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले राजनीतिक स्थायित्वको माग गरेर जनतासँग भोट मागेको एमालेको हर्कतले जनता दिक्क भएको बताए । उनले भने, ‘जनतामा जाने अधिकार एमालेलाई छैन ।’
जनताले विश्वास गरेर एमालेलाई दुईतिहाइको बहुमत दिएको बताएका कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले भने, ‘जनताले पत्याएर एमालेलाई दुईतिहाइ बहुमत दिए । दुईतिहाइ बहुमत पाउँदा पनि एमालेले सरकार चलाउन सकेन । आफै सरकार गिरायो । संसद भङ्ग गर्यो ।’
खतिवडाले जनताको कम्युनिस्टलाई मत नदिन अपील गरेका छन् । उनले कांग्रेसले मात्रै जनताप्रति इमान्दारिता देखाएको बताए ।
कम्युनिस्टसँग सर्वसाधारणहरू आजित बनेको उनले बताएका छन् ।
नेता खतिवडाले कांग्रेस नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेको जानकारी दिँदै निर्वाचन केन्द्रित कार्यक्रमहरू गर्न आग्रह गरेका छन् । उनले पार्टीभित्रको तितामीठा कुरालाई भुलेर पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आजैदेखि प्रचार प्रसारमा लाग्नुपर्ने बताएका छन् ।
कांग्रेसका उम्मेदवारहरूले जिते भने मात्रै जनताको काम हुने उनको भनाइ छ ।

यसैबीच, एमाले, माओवादीसहित विभिन्न राजनीतिक दल परित्याग गरेर एक सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य खतिवडाले सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा माधवप्रसाद दाहाल, दुर्गाहरि दाहाल, कमला नेपाली, सावित्री नेपाली सुनिता नेपाली, दिलबहादुर बिक, चन्द्रबहादुर बुढाथोकी, भीमबहादुर बुढाथोकी, दुतमान तामाङ, रामबहादुर तामाङलगायतका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको ओखलढुंगा कांग्रेसले जनाएको छ ।
केन्द्रीय सदस्य प्रदीप सुनुवार, पार्टी सभापति तेजेन्द्र कार्कीलगायतका नेताहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया