न्यारोवडी जहाजमा अर्को इञ्जिन राखेर उडाउने, बिग्रिएको इञ्जिन बनाउन शुरु

काठमाडौं । नेपाल वायु सेवा निगमले न्यारोवडी ए३२० जहाजलाई नियमित उडानमा लैजान इञ्जिन भाडामा लिएर सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ ।

निगमले ९ जनवरीमा इञ्जिन भाडामा लिनको लागि ग्लोबल रिक्वेस्ट फर प्रपोजल आह्वान गरेको थियो ।

त्यस क्रममा एमटीयू मेन्टिनेन्स लेस सर्भिस बीभी कम्पनी छनौट गरि इञ्जिन भाडामा लिने कार्य अगाडि बढाएको प्रवक्ता अर्चना खड्काद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सो जहाजको विग्रिएको इञ्जिनलाई आवश्यक मर्मत सम्भार गर्नको लागि एमआरओ (मेन्टिनेन्स रिपेयर अर्गनाइजेशन) छनौट गर्नको लागि २४ जनवरीमा निगमको नियमानुसार ग्लोवल रिक्वेस्ट फर प्रपोजल आह्वान गरिएको प्रवक्ता खड्काले बताएकी छिन् ।

निगमको न्यारोवडी ए ३२० विमान ९एन–एकेडब्लु गत २८ डिसेम्बरमा काठमाडौं–दोहा आरए–२३७ नियमित उडानमा सुरक्षित अवतरण पश्चात पार्किङ गर्ने क्रममा विमानको एउटा इञ्जिनमा प्राविधिक समस्या देखिएको थियो ।

उक्त समस्याको थप निरीक्षण दोहोस्थित कतार एयरवेजका इञ्जिनियरिङ टिमले गरेको थियो ।

त्यस क्रममा बायाँ इञ्जिनमा इन्टर्नल डिफेक्ट पहिचान भएको र इञ्जिन फेर्नुपर्ने प्राथमिक राय प्राप्त भएको थियो ।

उक्त इञ्जिन उत्पादनकर्ता पीडब्लु/आईएईसँग निगम व्यवस्थापनले आवश्यक परामर्श लिँदा इञ्जिनलाई रिप्लेस गरि रिपेयर गर्न सुझाए बमोजिम विमानलाई यथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन इञ्जिन भाडामा लिनुपर्ने भएकोले प्राविधिक प्रतिवेदनहरूको आधारमा निगमको नियमानुसार इञ्जिन भाडामा लिनको लागि निगमले प्रक्रिया अगाडि बढाएको थियो ।

Published : Monday, 2022 February 7, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया