प्रचण्डले बनाए यी मूर्ति चोरलाई मन्त्री

काठमाडौं । माओवादी केन्द्रले मूर्ति चोरलाई मन्त्री बनाएपछि खैलाबैला भएको छ ।

कार्चेन लामा उर्फ छिरिङ दमदोल लामाले सोमबार कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको शपथ लिएपछि विरोध र आलोचना भएको छ ।

मूर्ति चोर लामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा मन्त्री बनेका हुन् । उनलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री बनाएका हुन् ।

०२४ सालमा जन्मिएका उनको राजनीतिक यात्रा २०४५–०४६ देखि पातलो मसाल, मोटो मसाल हुँदै संयुक्त जनमोर्चा नेपालबाट भएको हो ।

उनी आफ्नो अर्ध–भूमिगतको गुरु मोहन वैद्य किरण, बाबुराम भट्टराई, पोष्टबहादुर बोगटी, नेत्रबिक्रम चन्द लगायतलाई मान्दछन् ।

लामाको छवि विवादस्पद छ । लामा यसअघि मूर्ति चोरी मुद्दामा जेल पुगिसकेका व्यक्ति हुन् । उनीमाथि चीनको ताक्लाकोटस्थित खोचेर गुम्बाको १२ सय वर्ष पुरानो मूर्ति चोरीको काण्डमा जेल सजाय भोगिसकेका छन् । उनको मुद्दाको दर्ता नम्बर ४१० थियो ।

मूर्ति चोरी प्रकरणमा जिल्ला प्रहरी कार्यालय हुम्लाले लामा र छिरिङ पाल्देन लामाविरुद्ध चोरी मुद्दा चलाएको थियो । प्रहरीले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत हुम्लाका न्यायाधीश नीलकण्ठ उपाध्यायले लामालाई दोषी ठहर गर्दै २०५१ मा दुई वर्ष जेल सजाय सुनाएका थिए । उक्त फैसलाको सजाय र ५ हजार जरिबाना लामाले गत असोजमा मात्रै भुक्तान गरेको बुझिन्छ ।

लामा सिमीकोट गाउँपालिका–३ निवासी हुन् । उमेरले ५० वर्ष नाघेका लामा हुम्लाबाट माओवादीमा भूमिगत हुने पहिलो व्यक्ति पनि हुन् ।

२०६९ मा पार्टीको हेटौंडा महाधिवेशनमा लामा केन्द्रीय सदस्य चयन भएका थिए । त्यसपछि उनी पार्टीको पोलिटब्युरो सदस्यसम्म पुगेका थिए ।

हिमाली समुदायको प्रतिनिधित्वका लागि भन्दै लामालाई प्रचण्डले मन्त्री बनाएका हुन् ।

प्रचण्डले कर्णाली प्रदेश सभामा माओवादीका निर्वाचित र समानुपातिक सांसद हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाएका छन् ।

उनले कैद सजाय पाएपछि आफूलाई छिरिङ दमदुल नामले भन्दा पनि कार्चेन नामले परिचय गराउँथे ।

लामा २०५४ सालमा परगाउँ गाविसको उपाध्यक्ष हुँदै अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

२०७० सालको चुनावमा पनि छिरिङ दमदुललाई नै केन्द्रबाट संविधान सभा सदस्यको टिकट आएको थियो । मूर्ति चोरीको विवादकै कारण उनले आफ्ना नातेदार छक्कबहादुर लामालाई टिकट दिएका थिए । छिरिङ र छक्क भेना–साला हुन् ।

२०७४ मा पनि यही विवादका कारण छिरिङले आफूले पाएको हुम्ला प्रदेश (ख) को टिकट पनि अरुलाई छोडेका थिए ।

Published : Monday, 2022 February 7, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया