चुनावको तयारीमा अगाडि बढे गृहमन्त्री खाण, सुरक्षा प्रमुखहरूसँग परामर्श

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचनको सुरक्षा योजनाका विषयमा परामर्श गरेका छन् ।

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाणले स्थानीय तहको निर्वाचनका विषयमा सुरक्षा प्रमुखहरूसँग छलफल गरेका हुन् । गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् ।

आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको जानकारी दिए । उनले स्थानीय तहको निर्वाचनमा आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा पनि छलफल भएको बताए ।

प्रधानमन्त्री र निर्वाचन आयोगबीच मंगलबार भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने अनौपचारिक रुपमा सहमति भएको थियो ।

स्थानीय तहको निर्वाचनमा सुरक्षा कसरी दिने ? कुन किसिमले सुरक्षा गर्ने ? भन्ने विषयमा सबै सुरक्षा निकायबाट त्यसको फिडब्याक लिएर अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको पोखरेलले बताएका छन् ।

निर्वाचन केन्द्रित सुरक्षा योजना कसरी तयार गर्ने ? जनशक्तिको व्यवस्थापन लगायतको विषयमा पनि गृहमन्त्री खाणले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका हुन् ।

मुलुकको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको पोखरेलले बताएका छन् ।

स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने तयारी भइरहेका बेला गृहमन्त्री खाणले सुरक्षाको व्यवस्थापनका लागि पहल थालेका छन् ।

गृहमन्त्री खाणसँगको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2022 February 2, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया