महाकाली नदीमा पुल बन्ने, नेपाल–भारतबीच सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको उपस्थिति रहेको थियो ।

भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि सम्झौता भएको छ ।

यो परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउनेछ ।

दुवैतर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउनेछ ।

यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटी अनुरुप रहेको छ ।

उक्त पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको नेपालका लागि भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2022 February 1, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया