डा.अन्सारीको कार्यले देउवा सरकारलाई ठूलो मद्दत मिल्यो : केन्द्रीय सदस्य खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले औषधि व्यवसायी समेत रहेका कांग्रेसका युवा नेता डा.अबुल हुसैन अन्सारीको कार्यको प्रशंसा गरेका छन् ।

सोमबार काठमाडौंमा प्यारासिटामोलसहितका स्वास्थ्य सामग्री हस्तान्तरणका क्रममा खतिवडाले डा.अन्सारीले कोरोना महामारीका बेला ज्वरोको औषधि प्यारासिटामोल निःशुल्क वितरण गरेको भन्दै खुसी व्यक्त गरे ।

पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘डा.अबुल हुसैन अन्सारीजीले पूण्यको काम गर्नुभएको छ । शताब्दीकै सबैभन्दा ठूलो महामारीका बेला जनताको जीवन बचाउन निःशुल्क औषधि वितरण गरेर पूण्यको काम गर्नुभएको छ ।’

नेता खतिवडाले यो अवसर सबैलाई नजुट्ने बताएका छन् । उनले नेपाली कांग्रेस नेतृत्वको सरकारले जनताको जीवन बचाउन खोपसहितका काम गरिरहेका बेला डा.अन्सारी जस्ता युवा व्यवसायीहरूको कार्यले ठूलो मद्दत पुगेको बताए ।

डा.अन्सारीले ओखलढुंगा जिल्लाका जनताका लागि नेता खतिवडालाई प्यारासिटामोलको दश हजार ट्याब्लेट उपलब्ध गराएका छन् । खतिवडाले प्यारासिटामोलसहितका सामग्रीलाई गृहजिल्ला ओखलढुंगा लगेर वितरण गर्ने बताएका छन् ।

खतिवडा माघ २२ गते ओखलढुंगा जान लागेको उनका स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन् ।

डा.अन्सारीले काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको मूलगेटमा प्यारासिटामोल औषधि र मास्क निःशुल्क वितरण गरिरहेका छन् । उनले एकहप्तादेखि प्यारासिटामोल औषधि वितरण गर्दै आएका हुन् ।

विभिन्न जिल्लाबाट माग भएअनुसार डा.अन्सारीले नेपाली कांग्रेसका नेताहरूमार्फत प्यारासिटामोल औषधि पठाउने गरेका छन् ।

डा.अन्सारीको निःशुल्क प्यारासिटामोल औषधि वितरण कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य खतिवडाले नै गरिदिएका थिए ।

ज्वरोका बिरामीले प्रयोग गर्ने प्यारासिटामोलको मूल्य बढाउन औषधि उत्पादक कम्पनीहरू उत्पादनमा कमी ल्याएपछि बजारमा प्यारासिटामोलको अभाव भएको छ । अभाव हटाउन डा.अन्सारीले प्यारासिटामोल निःशुल्क वितरण गर्दै आएका छन् ।

डा.अन्सारीले गत वर्ष कोरोना महामारीका बेला कोरोनाका गम्भीर बिरामीको उपचारमा प्रयोग हुने गरेको रेमडिसिभिर औषधि बंगलादेशबाट ल्याएर उपलब्ध गराएका थिए ।

Published : Monday, 2022 January 31, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया