कांग्रेस नेता तिमिल्सिनाको समन्वयमा बर्दियाका विद्यार्थीलाई कपडा वितरण

गुलरिया । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाको समन्वयमा बर्दियाका बिभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरिएको छ ।

तिमिल्सिनाको आग्रहमा चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन र सफा सुनौलो नेपालले विद्यार्थीलाई ट्रयाक शुट, टोपी, मोजा, पञ्जा र मखलर लगायतका कपडा वितरण गरिएको हो ।

सफा सुनौलो नेपालका कानूनी सल्लाहाकार अधिवक्ता देवीराम उपाध्यायले कांग्रेस नेता तिमिल्सिनाको आग्रहमा विद्यार्थीलाई सहयोग गरिएको बताएका छन् ।

राजापुरका चन्द्रोदय प्राथमिक विद्यालय र ज्ञानोदय प्राथमिक विद्यालय तथा गुरुवाका शिव ज्योति आधारभूत विद्यालय र श्री कृष्ण प्राथमिक विद्यालयका ५०१ जना विद्यार्थीलाई कपडा हस्तान्तरण गरिएको छ ।

कांग्रेसका नेता तिमिल्सिनाले आफूले निकै संघर्ष गरेर विद्यालयको अध्ययन पूरा गरेको बताएका छन् ।

‘यही क्षेत्रमा नदीमा पौडी खेलेर पढ्न जाने गर्दथिएँ’, उनले भने, ‘कुनै बेला २५ रुपियाँ नपुगेर पढ्नबाट बञ्चित पनि भएँ ।’

‘मेरो विद्यार्थी जीवन अझै समाप्त भएको छैन, म अहिले पनि अध्ययन गर्दैछु’, तिमिल्सिनाले भने, ‘मैले आफैले संघर्षपूर्ण विद्यार्थी जीवन बिताएकाले यहाँँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग ल्याएका हौँ ।’

नेता तिमिल्सिनाले भने, ‘म नेपाली कांग्रेसमा आवद्ध छु । कांग्रेस यस्तो पार्टी हो जसले मजदुर, मुक्त कमैया, विपन्न वर्ग तथा सबै राजनीतिक दलमा आवद्ध नागरिकहरूका छोराछोरीले समान रुपमा पढ्न–लेख्न पाउनु पर्छ भन्ने मान्यता राख्दै देशमा प्रगतिशील शिक्षा नीति तर्जुमा गरेर ल्याउने गतिशील पार्टी हो ।’

तिमिल्सिनाले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सबैलाई खोप, निःशुल्क खोप दिनुपर्छ भन्ने मान्यताका साथ सक्रिय रहेको बताएका छन् ।

Published : Monday, 2022 January 31, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया