निको नहुँदै ओली बाहिर निस्किए च्याप्प समातेर भक्तपुर तरुण दलले टेकुमा भर्ना गर्ने
भक्तपुर । नेपाल तरुण दल भक्तपुरले कोरोना संक्रमित एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका कारण कोरोना फैलिएको पुष्टि भएमा कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।
शनिबार बिहान प्रेस नोट जारी गरेर भक्तपुर तरुण दलका अध्यक्ष राजु थापाले बालकोटमा सार्वजनिक कार्यक्रममा सहभागी भएर एमालेका अध्यक्ष ओलीले कोरोना फैलाउने हर्कत गरेको भन्दै आपत्ति जनाएका हुन् । कम्युनिस्टहरूले जनताको स्वास्थ्यमाथि खेलवाड गर्छन् भन्ने कुराको पुष्टि ओलीले गरेको उनले बताएका छन् ।
‘पूर्वप्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेता समेत रहेको व्यक्तिबाट जनताको स्वास्थ्यमाथि खेलवाड भएको छ । यसलाई सहज रुपमा लिन सकिँदैन’, अध्यक्ष थापाले भने, ‘ओलीले गरेको कार्यबाट हुने नोक्सानीको जिम्मा उहाँले लिनुपर्छ ।’
तरुण अध्यक्ष थापाले कोरोना संक्रमण निको नहुँदासम्म घरमा बसेर स्वास्थ्य लाभ लिन सुझाव दिएका छन् ।
‘ओलीज्यूले घरमा बसेर स्वास्थ्य लाभ लिनु हुनेछ भन्ने अपेक्षा लिएका छौँ’, उनले चेतावनी शैलीमा भनेका छन्, ‘अन्यथा कोरोना निको नहुँदै फेरि पनि भक्तपुरमा जिल्लाभित्र सार्वजनिक कार्यक्रमहरूमा सहभागी भएको देखियो भने तरुण दलले ओलीजीलाई टेकुस्थित सरुवा रोग अस्पतालमा लगेर उपचार गराउँछ । त्यसको खर्च तरुण दलले ब्यहोर्नेछ ।’
कोरोना संक्रमण भएको चौथो दिन माघ ९ गते ओली बालकोटस्थित सार्वजनिक कार्यक्रममा सहभागी भएर स्वास्थ्यसम्बन्धी कानूनलाई धज्जी उडाएका थिए ।
एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेर सहभागिता जनाएका हुन् ।
कार्यक्रममा एमालेका नेताहरू गोकुल बाँस्कोटा, महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
एमालेको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले माघ ११ गते ओलीको स्वास्थ्यबारे जानकारी दिन विज्ञप्ति जारी गरेर भनेका थिए, ‘अध्यक्ष ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया