सीके राउतले धमिलो पानीमा माछा मार्न खोजे : राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले सीके राउतका पछिल्ला हर्कतहरूको विरोध गरेका छन् ।

नेपाली रेडियो नेटवर्कसँगको अन्तर्वार्तामा यादवले मधेश प्रदेशमा सीके राउतले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाए ।

‘सीके राउत पक्षबाट प्रदेश सांसदमाथि सांघातिक आक्रमण भयो’, उनले भने, ‘निर्वाचनमा जमानत पनि बचाउन नसक्ने सीके राउतको जनमत पार्टीले मधेश प्रदेशमा धमिलो पानीमा माछा मार्न खोजेको छ ।’

उनले भने, ‘राज्यले जनताको जायज माग सम्बोधन गर्न नसक्दा असन्तुष्टिलाई सीक राउतको समूहले आफ्नो स्वार्थसिद्धिको साधन बनाउन खोजेको छ ।’

‘सीके राउतले भीडन्त निम्त्याउन खोजेका छन् । यसले दीर्घकालीन रुपमा देश र जनतालाई अहित गर्छ’, नेता यादवले भने ।

पार्टीभित्र देखिएको अन्तरसंघर्षलाई नेता यादवले बैठक बसेर समाधान खोजिने बताएका छन् ।

उनले भने, ‘हामी पार्टीका अन्तरसंघर्षलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर निकास दिन्छौं । त्यहाँ भएन भने केन्द्रीय कमिटीमा पनि छलफल गर्छौं ।’

‘हामी वैकल्पिक पार्टी बनाउने सोँच बनाएर अगाडि बढेका छौं’, यादवले भने, ‘कति वटा अध्यक्ष बनाउने ? कस्तो कार्यविभाजन गर्ने भन्नेबारे हामी छलफल गछौं ।’

नेता यादवले प्रदेश १ मा गठबन्धनका सबै उम्मेदवारले जित्दा जसपाका उम्मेदवारले पराजय भोग्नु परेको भन्दै चिन्ता जनाएका छन् ।

‘यो दुःखद् विषय हो । गठबन्धनको एउटा पार्टीले जित्ने, अर्कोले हार्नु अन्तर्घात नै हो’, उनले भनेका छन् ।

गठबन्धन नटुट्ने उनले बताएका छन् । ‘आगामी निर्वाचनमा पनि गठबन्धन गरेर जाने प्रयास हुनेछ’, उनले भनेका छन् ।

स्थानीय तहको निर्वाचन सम्बन्धमा केहीदिनमै गठबन्धनले निर्णय गर्ने उनले बताएका छन् ।

Published : Thursday, 2022 January 27, 12:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया