भारतीय दूतावासद्वारा ह्वील चेयर र वैसाखी वितरण

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा ह्वीचेयर र वैसाखीहरू वितरण गरेको छ ।

‘आजादीका अमृत महोत्सव’अन्तर्गत धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि धरानमा कार्यक्रम गरिएको थियो ।

शिविर भारतीय सेनाका भूपू सैनिकहरूको कल्याण हेतु रक्षा प्रभागले चालेका थुप्रै प्रयासहरूमध्येकै एक रहेको विज्ञप्तिमा उल्लेख छ ।

शिविरमा ३२ जना दीव्यङ्गजन भूपू तथा उनीहरूका परिवारका सदस्यलाई ह्वीलचेयर तथा वैसाखी प्रदान गरिएको छ ।

अशक्तता, दुर्बलता र अन्य स्वास्थ्य समस्याबाट पीडित भूपू सैनिक तथा उनका परिवारका सदस्यलाई पेन्सन डक्युमेन्टेसन क्याम्प तथा र्‍यालीमार्फत पहिचान गरिएको थियो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स विभागले स्वास्थ्य परीक्षणमा सहयोग गरेको छ ।

यस किसिमको मोबिलिटी एडले पीडितहरूको शारीरिक क्रियाकलापमा सघाउँदै उनीहरूलाई समाजसँग जोड्न मद्दत गर्नेछ ।

महामारीको समयमा आफ्ना भूपू सैनिक तथा समाजको हित हुने काम गर्न तथा उनीहरूको समस्या निराकरण गर्न रक्षा प्रभागले विविध उपायहरू अपनाइरहेको छ ।

समयमै पेन्सनको भुक्तानी, भर्चुअल आइडेन्टिफिकेसन, डिजिटलाइजेसन, रक्तदान शिविर, रासन वितरण, मास्क तथा स्यानिटाइजरको वितरण, स्थानीय प्रशासनलाई सहयोग, ह्वीलचेयरको वितरण, धेरैभन्दा धेरै क्षेत्रहरू समेट्न नयाँ डक्युमेन्टेसन र्‍याली जस्ता विभिन्न कार्यहरू प्रभागले गर्दै आएको छ ।

Published : Wednesday, 2022 January 26, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया