भारतीय दूतावासमा ७३औँ भारतीय गणतन्त्र दिवसको भव्य कार्यक्रम

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले ७३औं गणतन्त्र दिवस मनाएको छ ।

बुधबार लैनचौरस्थित दूतावासमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको हो ।

त्यसपछि राजदूत क्वात्राले कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल समेत वितरण गरी सम्मान गरेका छन् ।

मानवीय प्रयासका सबै क्षेत्रहरूमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरूको आयोजना गरिनेछन् ।

नेपालमा इण्डिया एट ७५ माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरू यसै वर्ष उद्घाटन गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेछ ।

Published : Wednesday, 2022 January 26, 4:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया