देउवाद्वारा भारतलाई शुभकामना, क–कसले पाए पुरस्कार ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई ७३औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् ।
नेपालको तर्फबाट प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र भारतीय जनताको प्रगति र समृद्धिको कामना गरिएको छ ।
प्रधानमन्त्री देउवाले पनि समकक्षी नरेन्द्र मोदीको सुस्वास्थ्यको कामना गर्दै भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेका छन् ।
उनले सामाजिक आर्थिक विकासमा भारतले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।
उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुँदै जाने विश्वाससमेत व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय सममकक्षी डा.जयशंकर र भारतीय जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उनले दुई देशबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।
यसैबीच, भारतले आज ७३औं गणतन्त्र दिवस मनाउँदैछ । गणतन्त्र दिवसको अवसरमा पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको नाम घोषणा गरिएको छ ।
केन्द्रीय गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिनेछ ।
पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो नागरिक सम्मान हो । पद्म विभूषण पाउनेहरूमा डिसेम्बर महिनामा हेलिकप्टर दुर्घटनामा निधन भएका सैनिक जनरल विपिन रावत, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, गोरखपुरस्थित गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायिक प्रभा यात्रे छन् ।
यीमध्ये प्रभा यात्रेबाहेक अन्य तीन जनालाई यो सम्मान परणोपरान्त प्रदान गर्न लागिएको हो ।
पद्म भूषण पाउने १७ जनामा यसपटक कोरोना भाइरसविरुद्धको खोप बनाउने सीरम इन्सटीच्युटका साइरस पुनावाला र भारत बायोटेकका संस्थापक अध्यक्ष कृष्णा एल्ला र उनकी पत्नी सुचिता एल्ला लगायत छन् ।
कांग्रेस नेता गुलाम नबी आजाद, पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्य र पूर्वगृहसचिव राजीव महर्षि, टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरन, गुगलका सीईओ सुन्दर पिचाई, माइक्रोसफ्टका अध्यक्ष सत्या नगेला र भारतीय मूलका मेक्सिकोका वैज्ञानिक सन्जय राजाराम (मरणोपरान्त) लाई पनि पद्म भूषण सम्मान दिइँदैछ ।
अभिनेता भिक्टर बनर्जी, पञ्जाबकी लोक गायिका गुरमित बाबा, अभिनेत्री एवम् लेखिका मधु जाफरी, शास्त्रीय संगीतकार राशिद खानलाई पनि पद्म भूषणबाट सम्मान गरिनेछ ।
पद्म श्री पाउनेमा गायक सोनु निगम, समाजशास्त्री शैबाल गुप्ता, लेखिका नजमा अख्तर, अभिनेता एवम् निर्देशक चन्द्रप्रकाश द्विवेदी, लद्दाखका सांसद शेरिङ्ग नामग्याल, खेलाडीहरू निरज चोपडा, सुमित एन्टिल, प्रमोद भगत, बन्दना कटारिया, अवनि लेखारा लगायत छन् ।
वृटिश साम्राज्यबाट मुक्त भएर सार्वभौम अधिकारसम्पन्न भारत सरकारले सन् १९५० को जनवरी २६ तारिखमा संविधान जारी गरेको थियो ।
सोही दिनको सम्झनामा भारतले हरेक वर्ष जनवरी २६ तारिखमा गणतन्त्र दिवस मनाउने गर्दछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया