निर्वाचन आयोगद्वारा मिति घोषणा गर्न सरकारलाई दवाव
काठमाडौं । निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दवाव दिएको छ ।
मंगलबार आयोगले विज्ञप्ति जारी गरेर निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनको तयारी गर्न १२० दिन आवश्यक पर्ने समेत जनाएको छ ।
‘स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरू निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ’, आयोगले भनेको छ ।
‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ’, आयोगले भनेको छ ।
आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर २०७९ वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको थियो ।
कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न संभव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबार र दोश्रो चरण २०७९ वैशाख २२ गते विहिबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरेको थियो ।
सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनसम्बन्धी प्रावधान बाझिएको भन्दै कानूनलाई मिलाउने निर्णय गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया